काठमाडौं, २९ फागुन । तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपाली पोखरामा जारी प्रथम पोखरा खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा एकल अग्रताकायम गर्न सफल भएका छन् । उनले आठ चरणको समाप्तिमा ७.५ अंक प्राप्त गरेका छन् ।
सर्वेश्वर युवा क्लब, गैह्रापाटनद्वारा आयोजित प्रतियोगितामा बद्रीले सोमबार सम्पन्न छैटौँ चरणको खेलमा झापाका नीरज निरौलालाई बराबरी खेलमा पराजित गरे । ‘मैले त बराबरीको प्रस्ताव गरेको थिएँ तर जित्ने दबाबमा नीरजले खेल हारे । जितपछि बद्रीले बताए ।’ प्राय: खेलमा उपाधि होडमा नीरजका लागि बद्री नै बाधक बन्ने गरेका छन् ।
पाँच वर्षअघि भेट्रान चेस खेलाडी सीतारम अग्रवालको सम्मानमा भएको प्रतियोगिताको अन्तिम चरणमा बद्रीलालसँग पराजित भएपछि नीरज उपाधि विमुख भएका थिए । त्यसको सात महिनापछि भएको १५ औँ राष्ट्रिय च्याम्पियनसिपमा पाँच चरणको समाप्तिमा एकल अग्रता कायम गरेका नीरज छैटौँ चरणमा बद्रीसँग नै पराजित भएपछि हारको शृंखला सुरु भएको थियो । त्यो प्रतियोगितामा उनी २४औँ स्थानमा सीमित भएका थिए ।
त्यसको एक वर्षपछि भएको मदन मेमोरियल चेस प्रतियोगितामा भने नीरजले आठौँ चरणमा बद्रीलाललाई नै पराजित गर्दै उपाधिको बाटो खोलेका थिए । त्यो नै नीरजको खेलजीवनको सबैभन्दा ठूलो उपाधि पनि हो । सातौँ चरणमा खेलमा भक्तपुरका भेट्रान गणेशमान दुवाललाई माथ गरे भने आठौँमा केशव श्रेष्ठसित अंक बाँडेका थिए ।
समान ६.५ अंक प्राप्त गर्ने खेलाडीहरूमा मछिन्द्र क्लबका सचिव श्यामसुन्दर श्रेष्ठ र गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थ रहेका छन् । श्यामले सोमबार भएको खेलमा काठमाडौंका अनुप पोखरेल, ललितपुरका राजन पुरी र पोखराका रामबहादुर क्षेत्रीलाई हराए । त्यस्तै, मदनले ओलम्पियाड भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठ र भक्तपुरका गणेशमान दुवाललाई हराए भने काठमाडौं चेस क्लबका राजेन्द्र वज्राचार्यसित बराबरी खेलेका थिए ।
त्यसैगरी केशव श्रेष्ठ, झापाका नीरज निरौला, राजेन्द्र वज्राचार्य र सुरवीर लामाले समान ६ अंक प्राप्त गरेका छन् । स्विस लिग ९ चरणको खेल हुने प्रतियोगितामा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ, राजन पुरी, गणेशमान दुवाल र भक्तपुरकै प्रज्ज्वलराज राजोपाध्यायले समान ५.५ अंक जोडेका छन् ।
पाँचदिने प्रतियोगितामा स्थानीयतर्फ तीन भाइ रामबहादुर क्षेत्री, सुभाष क्षेत्री र सुदेश क्षेत्रीले ५ अंक हासिल गरेका छन् । त्यस्तै, प्रेमबहादुर भट्टराई, बुद्धिराज शर्मा र पूर्वनेपाल तेस्रो श्यामसुन्दर ताम्राकारले पनि समान ५ अंक प्राप्त गरेका छन् ।
प्रतिक्रिया