मध्यविन्दु । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाले बौदीकाली गाउँपालिकाको मचेडी देउसी खोल्सी र ठूलो खोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
गैँडाकोट नगरपालिका–३ च्यान डाँडामा सालको रुख ढलेकाले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुकबहादुर गुरुङले बताए । अहिले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसकिएको भन्दै वर्षा रोकिएपछि सडक सञ्चालन गरिने उनले जानकारी दिए ।
कालीगण्डकी कोरिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।
लगातारको वर्षाले विभिन्न ग्रामीण सडक अवरुद्ध हुनुका साथै समथर भू–भागमा डुबान र सडक कटान जोखिममा परेको प्रहरी सहायक निरीक्षक गुरुङले बताए ।
जिल्लाको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा डुबानका कारण एउटा परिवार विस्थापित भएको प्रहरी सहायक निरीक्षक भरत थापाले बताए । स्थानीय दुर्गा देवकोटाको घर डुबानमा परेपछि उद्धार गरी अन्यत्र सारिएको उनले उल्लेख गरे ।
प्रतिक्रिया