मेयर साहको चौतर्फी आलोचना, आन्दोलनमा जाने महिला स्वास्थ्यकर्मीहरूको चेतावनी

रौतहट । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको चौतर्फी रूपमा विरोध हुन थालेको छ । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा कार्यरत महिला चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई लक्षित गरी ८ असोजमा जारी गरेको विज्ञप्तिलाई लिएर मेयर साहको तीव्र आलोचना भइरहेको हो ।

महिलाहरूको पर्व हरितालिका तिजको दर खाने कार्यक्रममा प्रादेशिक अस्पताल गौरको सभाहलमा अस्पतालका चिकित्सक कर्मचारीहरूले आयोजना गरेको कार्यक्रममा महिला स्वास्थ्यकर्मीहरूले गरेको नाचगानको विषय लिएर ८ असोजमा महिला स्वास्थ्यकर्मीहरूमाथि लक्षित गर्दै लिखित रूपमा अभद्र टिप्पणी गरेका कारण नगरप्रमुख साहप्रति महिला स्वास्थ्यकर्मीहरू आक्रोशित भएका हुन् ।

गएको १९ भदौमा भएको कार्यक्रमलाई लिएर मेयर साहले करिब २० दिनपछि जारी गरेको विज्ञप्ति महिला स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीहरूको व्यक्तिगत अधिकारको कुंठित गर्ने उद्देश्य रहेको महिलाहरूको ठहर रहेको छ ।

तिज पर्व महिलाहरूको पर्व रहेकोले आयोजना गरिएको दर खाने कार्यक्रममा नाचगान गर्नु निजी तथा व्यक्तिगत स्वतन्त्रता रहेकोले मेयर साहले लिखित रूपमा पछि जारी गरेको विज्ञप्ति अस्मिता माथिको खेलवाड रहेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

मेयर साहले जारी गरेको विज्ञप्तिको १७आँै हरफमा दर खाने कार्यक्रमलाइ तिज पर्वको नाममा अभद्र क्रियाकलाप सञ्चालन गरेको उल्लेख गरिएको छ ।

विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय र संघ संस्थामा कार्यरत रहेका महिला कर्मचारीहरूले तिजको पर्वमा दर खाने कार्यक्रम आयोजना गरिने गरेकोमा सोही क्रममा अस्पतालमा कार्यरत महिला कर्मचारीहरूले आयोजना गरेको दर खाने कार्यक्रम कुन तरिकाले अभद्र क्रियाकलाप भएको भनी प्रश्नसमेत गरेका छन् ।

मेयर साह जिम्मेवार पदमा भएर पनि महिलाको अधिकारलाई हनन गर्ने सोचले विज्ञप्तिमा यस्तो शव्द प्रयोग गरेको भन्दै टिप्पणी गरेका हुन् । प्रादेशिक अस्पताल गौरमा कार्यरत महिला स्वास्थ्यकर्मीले मेयर साहले जारी गरेको विज्ञप्तिमा प्रयोग गरेका शव्दको विषयमा माफी नमागेमा विरोधमा संघर्षमा उत्रिनेसमेत चेतावनी दिएका छन् ।

‘महिलाको अस्मितामाथि प्रहार गर्ने मेयर साहले माफी माग्नुपर्छ’

नेकपा एमाले रौतहटका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य प्रत्यासी अजयकुमार गुप्ताले प्रादेशिक अस्पताल गौरमा कार्य गर्ने सम्पूर्ण महिला स्वास्थ्यकर्मी चिकित्सक कर्मचारीको अस्मितामाथि गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले प्रहार गरेको बताएका छन् ।
महिला कर्मचारीहरूले तिज पर्वको अवसरमा गरेको दर खाने कार्यक्रमलाई नगरप्रमुखले विज्ञप्ति जारी गरी दिएको अभद्र क्रियाकलाप सञ्चालनको संज्ञाले महिलाको अस्मितामाथि नै आघात पुगेको उनको दाबी रहेको छ ।
गौर नगरपालिकाका नगरप्रमुखले प्रादेशिक अस्पताल गौरमा तिजको नाममा अभद्र क्रियाकलाप सञ्चालन गर्नेमाथि सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गर्दै जारी गरेको विज्ञप्तिको विषयमा प्रतिक्रिया दिँदै पूर्व नगरप्रमुखसमेत रहेका गुप्ताले नगरप्रमुख साहको विज्ञप्ति खेदजनक रहेको भन्दै निन्दासमेत गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै जिल्ला इन्चार्ज गुप्ताले अस्पतालमा कार्य गर्ने महिला स्वास्थ्यकर्मीहरू गाउँ समाजकै चेली, छोरी, बुहारी रहेकोले एउटा जिम्मेवार व्यक्तिले लिखित रूपमा त्यस्तो शव्दको प्रयोग गर्नु खेदजनक भएको ठहर गरेका छन् ।

महिलाहरूको पर्व तीज रहेकोले नाचगान गर्न पाउने उनीहरूको व्यक्तिगत स्वतन्त्रता रहेकोले विज्ञप्ति निकालेर नै महिलाहरूको बेइज्जती गर्ने कार्य गरेको वर्तमान मेयरले सार्वजानिक रूपमा नै माफी माग्नुपर्ने धारणा राखे ।

रौतहट निर्वाचन क्षेत्र बाट निर्वाचित भएका नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले गौरमा रहेको प्रादेशिक अस्पतालको विकास, सुधारको कार्य कहिले नगरेको र नेकपा एमालेका सरकारले गर्न लागेको विकास देखेर आतिएको जिकिर गरे ।
आफू पनि नगर्ने र अरूले गर्दा विरोध गर्ने कार्य बन्द गर्नसमेत सुझाव दिँदै महिलाहरूलाई आघात पुग्ने गरी जारी गरिएको विज्ञप्तिमा प्रयोग गरिएको शव्द फिर्ता लिनसमेत आग्रह गरेका छन् ।

यसैगरी प्रादेशिक अस्पताल गौरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले नगरप्रमुख शम्भू साहको विज्ञप्तिले महिला स्वास्थ्यकर्मीहरूमा मानसिक रूपमा तनाव थपिएको प्रतिक्रिया दिएका छन् ।

तिजको कार्यक्रम कुनै पनि तवरले अभद्र नभएको भन्दै डाक्टर ठाकुरले कुन कारणले मेयर साहले यस्तो शव्द प्रयोग गर्नुभएको हो त्यसको पुस्टि गर्नुपर्ने बताए । विश्व स्वास्थ्य संगठनको तथ्यांकले सबैभन्दा बढी आत्महत्याको जोखिम स्वास्थ्यकर्मीलाई नै भएको देखाएको बेला १ घण्टाको लागि आयोजना गरिएको दर खाने कार्यक्रमको विषयलाइ अतिरञ्जित गर्नु निन्दनीय रहेको बताए ।

उनले स्वास्थ्य क्षेत्रमा कार्य गर्ने स्वास्थ्यकर्मीको उच्च मनोबल बढाउनुको सट्टा दिनरात मिहिनेत गरी सेवा दिइरहेका स्वास्थ्यकर्मीको हतोत्साहित गर्ने कार्य गौर नगरपालिकाको नगरप्रमुखबाट भएको ठहर गरे ।

डाक्टर ठाकुरले प्रादेशिक अस्पताल गौरको अवस्था पहिलाको भन्दा अहिले निकै सुधार भएको र आम नागरिकको उपचारप्रति विश्वास बढेर गएको दावीसमेत गरेका छन् । उनले अस्पतालका कर्मचारीको मनोबल गिराउने, होच्याउने कार्य नगरीदिन नगरप्रमुख साहलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया