सम्बन्धको दोबाटोले उजागर गरेका मान्छेभित्रका अनेक आयामहरू

प्रदीप सापकोटा

आधुनिक नेपाली कथाको इतिहास करिब एक शताब्दीको भइसकेको छ । धर्मशास्त्र, पञ्चतन्त्र हुँदै आधुनिक कालको वर्तमान समयमा आउँदा वर्तमान समयप्रतिको विरोधाभास,असन्तुलन, निराशा, वर्तमान दुरावस्थाको चित्रणतिर कथाहरू गएको छ ।

वर्तमान समयमा मान्छे अत्यन्त व्यस्त छ । यति व्यस्त छ कि ऊ आफ्नै घर खण्डहर भइसकेपछि मात्र चाल पाउँछ । फट्याइँमा रमाउँछ मान्छे अनि लुच्याइँमा हराउँछ मान्छे । मान्छेका चरित्र, स्वभाव, गुनवैगुनले विभिन्न सम्बन्धमा घर गर्छन् । भर गर्छन् र धोका पनि खान्छन् । वर्तमान परिवेशमा समाजमा मान्छेको स्वार्थता र व्यस्तता अनि विभिन्न सामाजिक सञ्जालमा आएका कुराहरूबाट प्रभावित भएर गलत ढंगले धारणा बनाउने प्रवृत्तिमा आएको बढोत्तरीले पनि हाम्रो समाज र सम्बन्धहरू विघटनको संघारमा पुगेका छन् ।

यसै कसीमा रहेर कथाकार रविन्द्र केसीले ‘सम्बन्धको दोबाटो’ ल्याएका छन् । रचनाहरूमा पढिएको नाम तर प्रत्यक्ष देखभेट, बोलचाल वा चिनारी नभएका तर धेरै सुनिएको कथाकार रविन्द्र केसीका कथाहरू पढ्दा मैले उनी शक्तिशाली कथाकार हुन् भन्ने धारणा बनाइसकेको थिएँ । प्रहरीका उच्चस्तरीय अधिकृतको रूपमा सेवारत केसीका कथाहरूमा सरल र मौलिक भावमा समाजका यथार्थलाई सत्यापन गर्छन् ।

आफू बाँचेको समाज वरिपरिका घट्ना र परिवेशको मिहीन चित्रण गर्नु कम्ति गाह्रो कुरा हुँदैन यस्तै गाह्रो कुरामा उनले हात हालेका छन् । प्रभावकारी ढंगले कथानकता टिप्ने उनको सामथ्र्य कथाहरूले प्रष्ट पारेका छन् । भन्न सकिन्छ सामाजिकताको प्रस्तुतीकरणभित्र कथाहरूले अड्डा जमाएका छन् । उनी कथाका पात्रहरूको चारित्रिक विशेषतालाई बडो अजिवसँग चित्रण गर्छन् । पात्रका मनोदशालाई मिहीन रूपले केलाउँछन् । पात्रका मानसिक दशाहरू चित्रित गर्छन् । पीडित, दमित पात्रहरूलाई पाठकसामु ल्याउँछन् । तिनका जिन्दगीका विवशताहरूको भावुक चित्र उतार्छन् । स्वभाविकता र वास्तविकताका सन्निकट रहेर कथा लेख्न रुचाउने केसी मान्छेका निरसिला, विरसिला र उराठलाग्दा पलहरूको मनोदशा कथामा उतार्छन् । कुनैकुनै कथामा मान्छेका अन्तरमुखी प्रवृत्तिहरू पनि उजागर गर्छन् ।

सम्बन्धको दोबाटोभित्र २१ वटा कथा रहेका छन् । फरक स्वाद, फरक स्थान, फरक परिवेश र फरक कथानकताभित्र कथाहरू घुमेका छन् । समकालीन नेपाली समाजका विविध आयामहरूको समाजशास्त्रीय पाटाहरू आफ्ना कथाहरूमार्फत केलाउन कथाकार खप्पिस देखिएका छन् । पात्रहरूको मनोविज्ञानका परिधि नापिएका छन् । वर्तमान समयका आममान्छेका कथा र व्यथा जुन काल्पनिक परवेशभन्दा पनि यथार्थ धरातलमा अडिएर लेखिएका छन् । द्वन्द्वका आला घाउहरू, प्रवासिएकाहरूका बाध्यता र विवशतामा जकेडिएका दैनिकीहरू र विदेशी संस्कृतिमा लम्पट युवायुवतीहरूका व्यवहारहरू, परस्परमा अंकुराएर झाँगिएका प्रेम, सबै विषयले सम्बन्धको दोबाटोमा स्थान पाएका छन् । यति मात्र होइन युवापुस्ताको विदेश पलायनमा दुखेका बुढाबुढीहरू र उनीहरूले भोग्नुपरेको कष्टकर जिन्दगीको दृृष्य देख्न पाइन्छ ।

कथा ‘क्याराबियन फूल मारिया’ र ‘सानफ्रान्सिसकोमा छुटेकी माया’ मा पश्चिमाको परिवेश खप्लक्कै आएको छ । यिनमा डोमेनिकन रिपब्लिक र अमेरिकी परिवेशको चित्रण गरिएको छ । पारिवारिक विखण्डको विषयलाई कथानकतामा बुनिएको विषयले यी कथाहरूमा स्थान जमाएका छन् । कथाहरूमा प्रवासका आपसी सम्बन्धमा आएका दरारहरूलाई कथानकतमा बाँधिएका छन् ।

‘अपहरण’ कथामा मध्ययुगीन जातीय विभेदको गोलचक्करबीच भएको अन्तरजातीय प्रेमविवाहलाई अपरहरणको संज्ञा दिँदै गर्दा त्यही दलितले दिएको रगतबाट जीवन बाँचेपछि छोरीको प्रेमविवाहलाई पारिवारिक मान्यता दिएर कथालाई संयोगान्त टुंग्याइएको छ । यसैगरी यही जातीय विभेदकै वरिपरि घुमेको कथा हो ‘लिभिङ टुगेदर’ । ‘आँसुको फूल’भित्र आफ्नो परिवार र श्रीमानको निम्ति कति महँगो मूल्य चुकाउन पनि पछि पर्दैनन् भन्ने भाव अभिव्यक्त गरिएको छ । कथाको मार्मिकताले सबैलाई भावुक बनाउँछ ।

टिनएजका मायाप्रेम र सँगै शारीरिक सम्बन्ध, पटकपटक एभोर्सनका लागि प्रयोग गरिएका औषधि र त्यसले वैवाहिक जीवनपछिको सन्तानसुख नहुँदा पारेका नकारात्मक असरहरूको यथार्थपरक कथा लाग्छ ‘दिग्भ्रमित यौवन’ शारीरिक भोकतृप्तिपछि गरिएका अप्राकृतिक औषधिको मनपरी प्रयोगले जिन्दगी रित्तिएर घर खण्डहर हुन्छ भन्ने सन्देशप्रद कथा हो यो ।

१० वर्षे सशस्त्र द्वन्द्वका आलो घाउहरू कोट्याएको भान पर्छ पाठकलाई ‘युद्धका घाउहरू’ पढ्दा । तपार्इं हामी सबैले बेहोरेको क्षणको चित्र त्यहाँ प्रतिबिम्बित छ । त्यतिबेलाका भयानक कहालीलाग्दा अवस्थालाई कथाको माध्यमबाट राख्ने सफल प्रयास भएको छ ।

वर्तमान समयमा पछिल्लो पुस्ताले बाबुआमाको आशावादीतालाई धुमिल पार्न गरेको धृष्टताको कथा हो ‘अपमानित कोख’ । यसले हाम्रो मथिंगल हल्लाउँछ । कथाले आफ्नो कर्तव्यबाट विमुख आजको पुस्ताको चरित्र चित्रण गर्छ । बाउआमाको सपनामा तुषारापात गर्ने नयाँपुस्ताप्रति आक्रोश व्यक्त गर्छ । वर्तमान पुस्ताले आफ्ना बुढाबुढी बाआमाप्रति निभाउनुपर्ने कर्तव्य ननिभाउँदाका बाउआमाका पीडाहरू अत्यन्तै मर्मस्पर्शी ढंगले उजागर गरिएको छ । वर्तमान समयको तीतो यथार्थ हो यो ।

‘माया कि मृगतृष्णा’ कोरोनाकालको प्रेम कथा लाग्छ । यहि कालको वियोगान्त कथा लाग्छ ‘फर्केर आउला र ऊ’ ‘सानफ्रान्सिस्कोमा छुटेकी माया’ लगायतका प्रेमकथाहरूले प्रेम प्राप्ति हो कि ? समाप्ति, प्रेम केवल मृगतृष्णा मात्र हो कि ? प्रेम बाहिरी आवरणमा गरिने आकर्षण हो या यसले मनमष्तिष्कबाटै आउँछ प्रेम ? यावत प्रश्नहरूले पाठकलाई घेर्छन् । कथाहरूमा चोखो माया लत्याउँदाका परिणतिका दृष्टान्त पनि आएका छन् जस्तै ‘डिपेन्डेन्ट भिसा’ । मदिराको कुलत र घरबाहिरको यौन सम्बन्धको कुलतमा फसेका पात्रहरूको कथा जसले घर र पारिवारिक सम्बन्धलाई खण्डहर बनाएका छन् तिनीहरूको प्रतिनिधिमूलक कथा हो ‘यौवनको जालो’ । यस्तै सम्बन्धको कारण भयानक रोग लागेका पात्रको कथा ‘बरालिएका सपनाहरू’ हो । मन विशुंखलित भएर भाँडिदा आउने परिणामहरूको चित्रण पनि गरिएको कथा ।

‘अर्काे विवाह गर्नुस् ममी’ संयोगान्तक भएर सकिन्छ । यसले सन्देश दिन्छ जति दुःखाए पनि आखिर आफ्नो मान्छे आफ्नै हुन्छ र उसको माया लाग्छ । पितृसत्तात्मक पूर्वाग्रहरूपी सोचले क्षतविक्षत भएका सम्बन्धहरू कति पीडादायी हुन्छन् भन्ने ‘नमेटिएको बाटो’ले देखाउँछ ।

यस्तै हाम्रा आफ्नै सम्बन्ध वरिपरि घुमेका कथाहरूले भरिएको छ सम्बन्धको दोबाटो ।

पाठक आँसु पुछ्न बाध्य हुन्छ । मन दुखाउँछ वियोगान्तक कथाहरूमा । संयोगान्त कथाहरूले सँगै मन खुसाउँछ, जीवनप्रतिको दृष्टिचेत गराउँछ । जीवन र परिवारप्रतिको मोह अनि समाजप्रतिको जिम्मेवारी बोध गराउँछ । नाता सम्बन्धप्रतिको कर्तव्यबोधमा लक्षित छन् । सकारात्मक सोच राख्न कथामार्फत आग्रह गर्ने कथाकार केसी कथावस्तु, कथानकता वा आफैँले देखेभोगेका, सुनेका र बेहोरेका घट्नाहरूलाई आयामिकता र बोधगम्य बनाएर प्रस्तुत गर्न जानिफकार देखिएका छन् । सामाजिक मूल्य र मान्यताका मानकहरूबाट च्यूत भएर क्षयीकरणतर्फ उन्मुख समाजको यथार्थलाई उनले सहज र सरल भाषामा लिपिवद्ध गर्न सकेका छन् । प्रायः सबै कथाहरूका आवृत्तिमा सरल प्रस्तुति गरेर पाठकलाई समेत समानुभूतिमा ल्याउन सक्ने सामथ्र्यका धनी लाग्छन् कथाकार ।

वर्तमान पुस्ताका जीवन र सम्बन्धमा आएका धक्काहरू, पुरुष र महिलाले एकअर्काप्रति गरेका घातहरू, जातीयताको विषम खाडल, प्रवास, अमेरिकी सपनाभित्र ध्वस्त पारिएका जिन्दगीहरूलगायत मानिसका जीवनका विभिन्न वास्तविक आयामहरू उतार्न सक्नु कथाका विशेषता लाग्छन् । नयाँ पिँढीले बाबुआमाप्रतिको दायित्व, कर्तव्य र जिम्मेवारी नबुझ्दाका परिणतिहरूले हाम्रो समाज कता जान्छ भन्ने कुराको पुष्ट्यार्इं गरेको छ । यस्तै यस्तै भावभंगी र विषयका सुन्दर कथाहरूले भरिएको सम्बन्धको दोबाटाले समकालीन चेत बोकेको छ भन्न करै लाग्छ । अनि लाग्छ, यो कथासंग्रहले वर्तमान समयका कथा साहित्यमा माइलस्टोन स्थापित गर्नसक्छ ।

प्रतिक्रिया