शिक्षकका लागि मधेसमा आम शैक्षिक हड्ताल

रौतहट । शिक्षकका लागि मधेसमा आम शैक्षिक हड्ताल भएको छ । आजपा निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलन गरेका छन् । मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । बुधबार राष्ट्रिय शिक्षा दिवस सरकारले मनाउँदै गर्दा मधेसका विद्यार्थीहरू शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् ।

वीरगन्ज र गौरमा आम विद्यार्थी मोर्चाले प्रदर्शन गरेको छ । आम विद्यार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाको नेतृत्वमा वीरगन्जमा र विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो । प्रदर्शनमा विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयको सहभागिता रहेको थियो ।

विद्यार्थीको अनुपात तहगत र विषयगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटकपटक माग गर्दासमेत कुनै सुनुवाई नगरेपछि बाध्यभएर आन्दोलनमा उत्रिनुपरेको विद्यार्थी मोर्चाका अध्यक्ष साहले बताएका छन् । मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोधी भएको आरोप उनीहरूले लगाएका छन् । प्रधानमन्त्री, शिक्षामन्त्रीको विरोधमा नाराबाजी गर्दै उनीहरूले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्नसमेत गरेका थिए । सरकारलाई पटकपटक आग्रह गर्दा समेत विद्यार्थीको भविष्यसँग खेलवाड गरेको आरोप आन्दोलनकारीको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया