यौन शोषणको आरोप लागेका वडाध्यक्षको राजीनामा माग्दै प्रदर्शन

रौतहट । जिल्लाको मौलापुर नगरपालिका–९ सोनरनियाका स्थानीयले यौन शोषणको आरोप लागेका वडाध्यक्षलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । वडाध्यक्ष श्यामकिशोर साहमाथि गाउँकै एक दलित समुदायकी महिलालाई विभिन्न प्रलोभन देखाई पटक–पटक यौन शोषण गरेको आरोप लागेको छ ।

उनकोे राजीनामा माग्दै स्थानीयले शुक्रबार दिउँसो प्रदर्शन गर्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । स्थानीयले प्लेकार्डसहित सोनरनिया गाउँ परिक्रमा गरी साहविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले यौन शोषण गर्ने वडाध्यक्ष साह राजीनामा देऊ, चरित्रहीन वडाध्यक्ष चाहिँदैन, वडाध्यक्ष साहलाई पक्राउ गर जस्ता नारा लगाएका थिए ।

केही दिनअघि मात्र सोनरनिया गाउँकै दलित समुदायकी एक विवाहित महिलाले वडाध्यक्ष साहमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । आफूलाई विवाह गर्ने आश्वासन दिएर वडाध्यक्ष साहले विगत ५ वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न नमान्दा आफू ठुलो समस्यामा परेको भन्दै ती महिलाले न्यायको माग गरेकी थिइन् ।

यौन शोषणको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मौलापुर नगरपालिकाले यस घटनाबारे सत्यतथ्य बुझी दोषीलाई कारबाही गर्न भन्दै गत ७ भदौमै उपमेयरको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

नगरपालिकाले विज्ञप्ति नै जारी गरी भदौ ७ गतेदेखि १५ दिनभित्रमा छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो । तर, नगरपालिकाले प्रतिवेदन सार्वजनिक गर्न दिएको १५ दिनको समय समाप्त भए पनि अझै प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया