हेटौँडाको विशेष नगरसभा असोज १५ सम्म स्थगित

हेटौँडा । कर वृद्धि फिर्ता लिने विषयमा बोलाइएको हेटौँडा उपमहानगरपालिकाको विशेष नगरसभा शुक्रबार स्थगित भएको छ । मिडियालाई प्रवेश निषेध गरेर गरिएको नगरसभामा विषय प्रवेश गरेर जम्माजम्मी २० मिनेटमा सकिएको थियो ।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडाध्यक्ष सविन न्यौपानेका अनुसार विशेष नगरसभा असोज १५ गतेसम्मका लागि स्थगित भएको हो । नगरसभा सदस्यहरुलाई विशेष नगरसभा बोलाइनुका कारणबारे जानकारी गराएर शुक्रबारको सभा स्थगित भएको न्यौपानेले बताए ।

उनका अनुसार त्यसअघि नगर कार्यपालिकाले बनाएको समितिले व्यवसायीहरुका मागका बारेमा कानुनविद, राजश्व सम्बद्ध विज्ञ तथा व्यवसायीहरुसँग परामर्श गरी प्रतिवेदन तयार गर्ने छ । भदौ २६ गते कार्यपालिका बैठकले उपमेयर राजेश बानियाको संयोजकत्वमा व्यवसायीहरुका मागबारे अध्ययन गर्न ५ सदस्यीय समिति बनाएको थियो ।

समितिमा हेटौंडाको मुख्य सहरी क्षेत्र समेटिने गरी वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, २ नम्बर वडाध्यक्ष विष्णुगोपाल महर्जन, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल र १० नम्बर वडाध्यक्ष फुर्वा दोर्जे तामाङ सदस्य रहेका छन् । सोही समितिको प्रतिवेदनका आधारमा असोज १५ गतेको विशेष नगरसभाले व्यवसायीहरुका मागका विषयमा निर्णय गर्ने छ ।

शुक्रबारको विशेष नगरसभामा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले व्यवसायीहरुका माग सम्बोधन गर्नका लागि विशेष नगरसभाको माग गर्नु परेको बताएका थिए । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौँडाका व्यवसायीहरु करको दर वृद्धिको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएपछि साउन ३० गते बहुमत नगरसभा सदस्यले विशेष नगरसभाको माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।

सिग्देलले व्यवसायीहरुका माग सम्बोधन गर्दा कुनै कानुनी व्यवधान आए त्यसबाट नआत्तिन नगरसभा सदस्यहरुलाई अनुरोध गरेका छन् । नगरसभामा सहभागी एक सदस्यका अनुसार सिग्देलले करको दर समायोजन गर्नका लागि कानुन बाधक भए पनि त्यसलाई बेवास्ता गर्नुपर्ने जीकिर गरेका छन् । सिग्देलले भनेका छन्, ‘कानुन विपरित भएर तपाईँ हाम्रो पद गए दलले बचाउँछ, नआत्तिनुस् ।’

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया