भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीको निधन

नयाँ दिल्ली । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निमोनियाका कारण निधन भएको छ । उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनलाई पहिला आपत्कालीन वार्डमा भर्ना गरिएको थियो र फेरि गहन चिकित्सा एकाइ (आइसियु) मा स्थानान्तरण गरिएको थियो ।

सिपिआई (एम) का नेता हन्नान मोल्लाले भने, ‘सिपिआई (एम) का महासचिव सीताराम येचुरी रहनुभएन, उहाँलाई एम्समा भर्ना गरिएको थियो ।’ उनले येचुरी लोकतन्त्र, धर्मनिरपेक्षता, एकता र मुलुकको एकताबद्ध प्रगतिको पक्षमा बलियो आवाज भएको बताए ।

७२ वर्षीय येचुरीको आज दिउँसो स्थानीय समयानुसार ३ः०५ बजे निधन भएको एम्सले पुष्टि गरेको छ । परिवारले उनको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँ दिल्लीलाई दान गरेको छ ।

३२ वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहेका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गरेका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ थिए । यसबाहेक उनले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसदको माथिल्लो सदन राज्यसभामा पश्चिम बंगालको प्रतिनिधित्व गरेका थिए ।

यसैबीच भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले आफ्नो महासचिव येचुरीको स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ ।

येचुरी आइडिया अफ इन्डियाका रक्षक : राहुल गान्धी

लोकसभामा विपक्षी नेता तथा कांग्रेस नेता राहुल गान्धीले येचुरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा येचुरीसँगको तस्बिर बिहीबार सेयर गर्दै उनले भनेका छन्, ‘सीताराम येचुरीजी साथी हुनुहुन्थ्यो, हाम्रो मुलुकलाई गहिरोसँग बुझ्ने भारतको विचारको संरक्षक, दुःखको यस घडीमा उहाँको परिवार, इष्टमित्र र अनुयायीहरूप्रति मेरो गहिरो समवेदना ।– नेता यचुरीको निधनबारे हिन्दी बीबीसीले पनि समाचार प्रकाशन गरेको छ ।

प्रतिक्रिया