र्सौयकर्मीकाे बज्जिकाञ्चल दैनिक भाषा आयोगबाट सम्मानित

बारा । सौर्यकर्मी राजुकुमार श्रीवास्तवले सञ्चालन गरेको बज्जिका भाषाको एक मात्र दैनिक पत्रिका बज्जिकाञ्चल दैनिकलाई भाषा आयोगले सम्मानित गरेको छ । भाषा आयोगको स्थापना दिवसको अवसरमा आयोगको कार्यालय शंखमूलमा आयोजित विशेष कार्यक्रममा बज्जिकाञ्चल दैनिकलाई सम्मानपत्रबाट सम्मानित गरिएको हो ।


बज्जिका मातृभाषा र मातृभाषा साहित्यको श्रीवृद्धिमा उलेखनीय कार्य गरी अमूल्य योगदान पु¥याएको कामको उच्च मूल्यांकन गर्दै भाषा आयोगको तर्फबाट बज्जिकाञ्चल दैनिकलाई सम्मानित गरिएको छ । नेपालमा देशभरबाट मातृभाषामा प्रकाशित हुँदै आएको पत्रिकामध्ये ११ वटा पत्रिकालाई एकसाथ सम्मानित गरिएको छ । मधेस प्रदेशबाट भोजपुरी टाइम्सको साथै बज्जिकाञ्चल दैनिक सम्मानित भएको छ ।


नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री बद्रीप्रसाद पाण्डेले सो सम्मान गरेका हुन् । पत्रिकाका सञ्चालक श्रीवास्तवले बज्जिकाञ्चल दैनिकको सम्मानपत्र बुझेका छन् ।

सो अवसरमा मन्त्री पाण्डेले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनमा प्रदेश सरकार र स्थानीय सरकारलाई जिम्मेवार हुन आवश्यक रहेको बताएका छन् । मन्त्री पाण्डले बज्जिकाञ्चल दैनिकको साथै सबै मातृभाषाको पत्रिकाका अझै राम्रोसँग मातृभाषाको सेवा गर्न सुझाव दिएका छन् ।
सो अवसरमा सम्मानित श्रीवास्तवले सम्पूर्ण बज्जिका मातृभाषीको सम्मान भएको उल्लेख गर्दै जबसम्म शरीरमा सास रहन्छ तबसम्म बज्जिकाञ्चल दैनिकलाई प्रकाशन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

विश्व बज्जिकाको पहिलो दैनिक अखबारको रूपमा सम्पूर्ण बज्जिकाञ्चल क्षेत्रको साझा आवाजको नारासहित प्रकाशित भइरहेको बज्जिकाञ्चल दैनिक नेपाल र भारतको सम्पूर्ण बज्जिकाप्रेमीको मुख्य आवाज रहेको छ । बज्जिका भाषा र साहित्यको सम्पूर्ण गतिविधिको प्रकाशन गर्दै प्रचारप्रसार गर्दै बज्जिकाञ्चल दैनिक बज्जिका पत्रकारिताको अग्रणी पत्रिका बन्नमा सफल भएको छ ।

नेपालको बज्जिका साहित्यकारको शनिबारका दिन र भारतीय बज्जिका साहित्यकारको आइतबारको दिनको अंकमा साहित्यिक गतिविधि र साहित्य सिर्जनाको मुख्य स्थान दिइरहेको बज्जिकाञ्चल दैनिकलाई राष्ट्रिय सम्मान प्राप्त भएकोले सम्पूर्ण बज्जिकाञ्चल क्षेत्रमा खुसीको सञ्चार भएको छ ।

बज्जिका भाषाको साहित्यकार, बज्जिका भाषाको प्रेमी, बज्जिकाको शुभचिन्तक तथा बज्जिकाञ्चल दैनिकको शुभेच्छुक खुसी व्यक्त गरेका छन् । रौतहटबाट प्रकाशित हुने सबै पत्रिकामा बज्जिकाञ्चल दैनिक नै पहिलोपटक राष्ट्रिय सम्मानबाट सम्मानित भएको छ ।

त्यसैगरी भाषा आयोगले ११ मातृभाषाका पत्रपत्रिकाहरूलाई सम्मान गरेको छ । भाषा आयोगको नवौँ स्थापना दिवसको अवसरमा पत्रपत्रिकामार्फत भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न टेवा पुगेको भन्दै पत्रपत्रिकाका प्रकाशक एवं सम्पादकलाई सम्मान गरेको हो ।

आयोगले किरात वाम्बुले राईभाषामा प्रकाशित पत्रिका इक लिब्जुभुम्जुका सम्पादक गणेश राई, लिम्बु भाषामा प्रकाशित पत्रिका तान्छोप्पाका सम्पादक अमर तुम्याहाङ, वान्तावा भाषामा प्रकाशित पत्रिका बुङ्वाखाका सम्पादक पदम राईलाई सम्मान गरेको छ ।

डोट्याली भाषामा प्रकाशित पत्रिका गुगुल्डीका सम्पादक वीरबहादुर चन्द, तामाङ भाषाबाट प्रकाशित तामाङ डाजाङका सम्पादक फूलकुमार बम्जन, नेपाल भाषामा प्रकाशित पत्रिका थौकन्हका सम्पादक रूकमणी श्रेष्ठ, बज्जिका भाषामा प्रकाशित पत्रिका बज्जिकावलका सम्पादक दिनेशकुमार श्रीवास्तव सम्मानित भए ।
त्यस्तै, भोजपुरी भाषामा प्रकाशित पत्रिका भोजपुरी टाइम्सका कार्यकारी सम्पादक श्रवण प्रसाद साह नेपाली भाषामा प्रकाशित पत्रिका रचनाका सम्पादक रोचक घिमिरे, चाम्लिङ भाषामा प्रकाशित पत्रिका सितिमीका सम्पादक तिलकबहादुर राई र थारू भाषामा प्रकाशित पत्रिका लावा डग्गरका प्रतिनिधि भूमिका थारू सम्मानित भएका छन् ।

यी सबै पत्रिकाका सम्पादकहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मानपत्र वितरण गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले भाषा आयोगले अझै अन्वेषण, तथ्यमा आधारित भएर कार्यक्षेत्र बढाउँदै गएर अनुसन्धान गरे भाषाहरू बढ्दै जाने बताए ।

‘भाषा आयोग भाषा संरक्षणको लागि अघि बढेको छ, आगामी दिनमा अझ सफलता प्राप्त गर्न सकोस्, भाषाहरूको संख्या थपिएको छ’, उनले भने, ‘आयोगको वार्षिक प्रतिवेदनमा १३१ वटा भाषा पुग्यो भनिएको छ, यसबाट के अनुमान लगाउन सकिन्छ भने हामीले भाषाहरू पत्ता लगाउन, हाम्रो भाषाहरूको खोजी गर्न अझै बाँकी छ ।’

भाषा आयोगले अझै कार्यक्षेत्र बढाउँदै जानुपर्ने पनि उनले बताए । ‘अझै पनि हाम्रा भाषा संरक्षण, संवद्र्धन विकास गर्नुपर्छ, यसमा विभिन्न मातृभाषी पत्रिकाका सम्पादकहरूको पनि विशेष भूमिका रहन्छ, भाषा संरक्षणको लागि मन्त्रालय सहयोग गर्नमा प्रतिबद्ध छ’, उनले भने ।

प्रतिक्रिया