वीरगन्ज । खानेपानीमन्त्री प्रदीप यादवले मुलुकलाई समृद्ध र सक्षम बनाउन शिक्षित र सक्षम युवा पुस्ताको विकास गर्नुपर्ने बताएका छन् । वीरगन्ज महानगरपालिका–३० वडा कार्यालयले बिहीबार यहाँ आयोजना गरेको ‘एसइईमा सफल भएका छात्रालाई कम्प्युटर वितरण तथा शिक्षक सेवा आयोग उत्तीर्ण विद्यार्थीलाई सम्मान’ कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताका विद्यार्थीलाई प्राविधिक शिक्षामा अग्रसर गराउन आवश्यक देखिएको बताए ।
‘युवा पुस्ताका विद्यार्थीको सशक्तीकरण प्राविधिक शिक्षाबाट मात्रै सम्भव छ’, मन्त्री यादवले भने, ‘भविष्यको कर्णधारलाई प्रविधिको पहुँच दिलाउने कार्यक्रम जरुरी छ ।’ मन्त्री यादवले समाजको विकासका लागि शिक्षामा लगानी गर्नु आवश्यक भएको उल्लेख गर्दै वर्तमान सरकारले शिक्षा र प्रविधिमा पहुँच अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले प्रविधिमा पहुँचले विद्यार्थीको भविष्यलाई उज्यालो बनाउन मद्दत पुग्ने बताए । वडा–३० का वडाध्यक्ष मनोजकुमार यादवले वडाले शिक्षामा नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै आइरहेको सुनाए ।
सो अवसरमा गत वर्षको एसइईमा उत्तीर्ण वडा–३० का २६ छात्रालाई कम्प्युटर वितरण गरिएको थियो । त्यस्तै शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भई पदस्थापन भएका २ जनालाई ल्यापटप र वडाको विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ९ जना स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिए ।
प्रतिक्रिया