हेटौँडा । हेटौँडामा रहेको रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा डकर्मी महिलासहित २ जनालाई सम्मानित गरेको छ । हेटौँडाको पहिलो सामुदायिक रेडियोले जागरुक महिला सम्मानबाट विगत १ दशकदेखि मकवानपुरमा डकर्मी पेसा गर्दै आइरहेकी गौरीमाया सिन्तानलाई सम्मानित गरेको हो । आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेकी हेटौँडा उपमहानगरपालिका–१९, बसामाडी घर भएकी सिन्तान महिला मिस्त्रीका रूपमा परिचित छन् ।
यस्तै रेडियोले तेक्वान्दो प्रशिक्षक सुरेषा ढुंगानालाई पनि जागरुक महिला सम्मानबाटै सम्मानित गरेको छ । मकवानपुर जिल्लालाई प्रतिनिधित्व गर्दै तेक्वान्दोमा पदक जित्ने पहिलो महिला खेलाडीको रूपमा पहिचान बनाएकी ढुंगाना तेक्वान्दो प्रशिक्षक तथा रेफ्रीसमेत हुन् । दुवैलाई रेडियोले नगद १०–१० हजार तथा सम्मानपत्रसहित सम्मानित गरेको हो ।
जागरुक महिला सम्मान प्रदान कार्यक्रमका प्रमुखअतिथि वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सम्मानित महिलाहरूको बारेमा जान्न पाउँदा आफू पनि उत्साहित भएको बताए । सामान्य कामबाट पनि महिलाहरूको जीवनलाई प्रेरित गर्ने जागरुक महिला सम्मान गर्ने रेडियोको कदमको प्रशंसा गर्दै मन्त्री काफ्लेले सञ्चारजगतका यस्ता काममा प्रदेश सरकारको साथ रहने उल्लेख गरे ।
विगत १४ वर्षदेखि प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने महिलाहरूलाई सम्मानित गर्दै आइरहेको रेडियोले हालसम्म २८ जनालाई सम्मानित गरिसकेको रेडियोका स्टेसन म्यानेजर गणेश दर्पण अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै रेडियोका सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरूको कामको सम्मान गर्दै उनीहरूको हौसला बढाउनु सामुदायिक सञ्चारमाध्यमको जिम्मेवारीसमेत भएको बताए ।
रेडियोले आयोजना गरेको जागरुक महिला सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा कलाकारहरूले प्रत्यक्ष दोहोरी प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने १० जना सहभागीहरूलाई रेडियोले पुरस्कृतसमेत गरेको छ ।
प्रतिक्रिया