डकर्मी महिलालाई रेडियो मकवानपुरको सम्मान

हेटौँडा । हेटौँडामा रहेको रेडियो मकवानपुरले हरितालिका तीजको अवसरमा डकर्मी महिलासहित दुई जनालाई सम्मानित गरेको छ । हेटौँडाको पहिलो सामुदायिक रेडियोले जागरुक महिला सम्मानबाट विगत एक दशकदेखि मकवानपुरमा डकर्मी पेसा गर्दै आइरहेकी गौरीमाया सिन्तानलाई सम्मानित गरेको हो ।

आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेकी हेटौँडा उपमहानगरपालिका– १९ बसामाडी घर भएकी सिन्तान महिला मिस्त्रीका रुपमा परिचित छन् । यस्तै रेडियोले तेक्वान्दो प्रशिक्षक सुरेषा ढुंगानालाई पनि जागरुक महिला सम्मानबाटै सम्मानित गरेको छ ।

मकवानपुर जिल्लालाई प्रतिनिधित्व गर्दै तेक्वान्दोमा पदक जित्ने पहिलो महिला खेलाडीको रुपमा पहिचान बनाएकी ढुंगाना तेक्वान्दो प्रशिक्षक तथा रेफ्रि समेत हुन् । दुवैलाई रेडियोले नगद १०–१० हजार तथा सम्मानपत्रसहित सम्मानित गरेको हो ।

जागरुक महिला सम्मान प्रदान कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सम्मानित महिलाहरुको बारेमा जान्न पाउँदा आफू पनि उत्साहित भएको बताए । सामान्य कामबाट पनि महिलाहरुको जीवनलाई प्रेरित गर्ने जागरुक महिला सम्मान गर्ने रेडियोको कदमको प्रशंसा गर्दै मन्त्री काफ्लेले सञ्चारजगतका यस्ता काममा प्रदेश सरकारको साथ रहने उल्लेख गरे ।

विगत १४ वर्षदेखि प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने महिलाहरुलाई सम्मानित गर्दै आइरहेको रेडियोले हालसम्म २८ जनालाई सम्मानित गरिसकेको रेडियोका स्टेसन म्यानेजर गणेश दर्पण अधिकारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै रेडियोका सन्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरुको कामको सम्मान गर्दै उनीहरुको हौसला बढाउनु सामुदायिक सञ्चारमाध्यमको जिम्मेवारी समेत भएको बताए ।

रेडियोले आयोजना गरेको जागरुक महिला सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा कलाकारहरुले प्रत्यक्ष दोहोरी प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने १० जना सहभागीहरुलाई रेडियोले पुरस्कृत समेत गरेको छ ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया