अन्ततः आशादेवीले पाइन् नागरिकता प्रतिलिपी

जनकपुर । धनुषाको टेश्वर गाउँपालिका–१ की ५१ वर्षीया आशादेवी मण्डलले १ वर्षको प्रतिक्षापछि जिल्ला प्रशासन कार्यालय, धनुषाबाट नागरिकता प्रतिलिपी पाएकी छन् । उनले पुनः वडा सिफारिस र अनुसूचीसहितको कागजात बुधबार पेस गरेको केही समयमै नागरिकता हातमा पाएकी हुन् ।

नागरिकता पाउँदा आशा र उनका श्रीमान् रामदेव मण्डल निकै खुसी भएका छन् । ‘आइ हमरा जल्दिए नागरिकता भेटल । एक वर्ष से दौडधूप करैत करैत परेशान छली’, आशाले नागरिकता प्राप्त गरेपछि भनिन् ।

रामदेवले भने, ‘१ वर्ष मजदुरी र सरसापट गरेर सिडिओ कार्यालय धाउँदै गर्दा निकै पीडा भोग्नुपर्यो । तर आज पुनः कागजात पेस गरेपछि केही समयमै श्रीमतीको हातमा नागरिकता पायौँ ।’

आशादेवीले गत वर्ष २०८० असोजमा नै नागरिकता प्रतिलिपीको लागि वडा सिफारिस र अनुसूची भरेर फाइल पेस गरेकी थिइन् । तर, वर्षभर दौडधुप गरे पनि नागरिकता बनेको थिएन । गत बुधबार, कर्मचारीहरूले उनका फाइल हराएको बताउँदै पुनः वडा सिफारिस र अनुसूची भरेर पेस गर्न भनेका थिए ।

छोरा राहुलको नागरिकता बनाउन जाँदा नागरिकतामा समस्या देखिएपछि, प्रशासनका कर्मचारीले पहिले आफ्नो प्रतिलिपी लिन सुझाव दिएका थिए । त्यसपछि, आशाले पुनः नागरिकता प्रतिलिपीको प्रक्रियामा लागिन् ।

आशादेवीको नागरिकता प्रतिलिपी १ वर्षपछि पनि नबनेको समाचार सार्वजनिक भएपछि यो विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको थियो । रास्वपाका सांसद मनिष झाले संसद्मा प्रश्न उठाएका थिए ।

प्रतिक्रिया