सिरहा । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुंगाकै सहारामा नदी तर्न बाध्य छन् । यहाँ वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि विकल्पका रूपमा यहाँ वर्षौंदेखि यस्तै नियति दोहोरिरहन्छ । अरू समय काठेपुलको सहारामा आवतजावत गर्ने स्थानीय वर्षासँगै नदीको बहावले पुल बगाएपछि वर्षायामभरि यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् । विगतमा यस्तो समस्या भोगे पनि १३ वर्षदेखि पुल निर्माण सुरु भएपछि समस्या धेरै रहँदैन होला भन्ने अपेक्षा गरेका थिए तर बहुप्रतिक्षित उक्त पुल अझै निर्माण नहुँदा समस्या ज्यूँको त्यूँ छ ।
यतिबेला कमलावारि घर, पारि खेतबारी हुनेहरूका लागि बर्खामा नदी वारपारको एक मात्र विकल्प डुंगा बनिरहेको छ । ‘घर मात्रै वारि हो, खेतबारी र गोठ पारि नै छ । वस्तुभाउलाई दानापानी गर्न भए पनि दिनको एक–दुईपटक त आउजाउ गर्नैपर्छ । हाम्रो जीवन त मर्नु न बाँच्नु भएको छ’, सिरहा नगरपालिका–६ का स्थानीय लिला यादवले आफ्नो पीडा पोखे, ‘कमला नदीमा पक्की पुल बन्न नसक्नु यहाँका नागरिकहरूका लागि दुर्भाग्य हो । पुस्तौँपुस्तादेखि बाउबाजेले जुन दुःख र सास्ती खेपे, हाम्रा छोरानातिले यही सास्ती बेहोर्नु परेको छ ।’ दैनिकजसो डुंगाबाट नदी वारपार गर्दा पाएको हैरानी र दुःख भन्दाभन्दा अब त थाकिसकेको उनको भनाइ छ ।
निर्माणाधीन अवस्थामै करिब ३ वर्षअघि पुल भासिएको थियो । भासिएको पुलभन्दा करिब १० किलोमिटर दक्षिणतर्फ नेपाल–भारत सीमाक्षेत्र नजिक गत वर्षदेखि झोलुंगे पुल सञ्चालनमा रहेको छ तर उक्त पुल पायक नपरेको स्थानीयको गुनासो छ । ‘यहाँ पुल निर्माण हुन सकेको छैन । झोलुंगे पुलले त्यस आसपासका नागरिकलाई सहज भए पनि बाँकी क्षेत्रलाई सहज भएन । नदीमाथि पुल बन्नुको विकल्प छैन’, डुंगामा मोटरसाइकल चढाएर सिरहाबाट घर फर्किंदै गरेका कमला नगरपालिका–५ धनुषाका अरविन्द पासवानले भने ।
सिरहाको सारश्वरनाथ घाटस्थित कमला नदीमा दैनिक ४ वटा डुंगा वारपार गरिरहन्छन् । स्थानीयदेखि टाढाटाढासम्मका सयौँ मोटरसाइकल यात्रु तथा पैदल यात्रुले डुंगाबाटै नदी तर्ने गरेका छन् । जसमध्ये स्थानीय मानिसहरूले मासिक÷वार्षिक रूपमा केही अन्नपात डुंगा खियाउने माझीलाई बुझाउने गरेका छन् भने टाढाटाढाका यात्रुहरूले प्रतिमोटरसाइकल १०० रुपैयाँ शुल्क तिर्ने गरेको माझी रामअवतार सहनीले जानकारी दिए । बाउबाजेदेखि गरिआएको पेसा भएकाले व्यवसायभन्दा पनि सामाजिक सेवा गरिरहेको उनले बताए । ‘४ दशकदेखि यहाँ डुंगा चलाइरहेको छु, बाउबाजेदेखिको पेसा नै यही हो । मेरो जुनी पनि डुंगा चलाउँदै बित्यो । छोराहरूले पनि यही पेसा अँगालिरहेका छन् ।’
बिहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाटछेउ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने यहाँका माझीहरूको दिनचर्या बनेको छ । यसैमध्येका अर्का माझी हुन् कमला नगरपालिका–७ का ७० वर्षीया रामसेवक सहनी । उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझीसरह नै छ उनको । ‘के गर्नु वर्षाका २–४ महिना त हो डुंगा चलाउन पाउने । यही डुंगा चलाउन पनि नदीमा बाढी पर्खनुपर्छ । सानै उमेरदेखि गर्दै आएको र जानेको सीप भएकाले ज्यानले साथ दिएसम्म त काम गर्नै प¥यो’, सहनीले भने । कमला नदीमा पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुंगा चलाइरहेका माझीहरू बताउँछन् । डुंगाबाट जोखिमपूर्ण यात्रा गरेर भए पनि थोरै राहत मिलेको स्थानीयको भनाइ छ ।
१३ वर्षदेखि पुल अधुरै
हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १३ वर्षसम्म अधुरै छ । निर्माण सुरु भएको १२ वर्षपछि सञ्चालन नहुँदै ३ वर्षअघि पुलको ३ वटा पाया भासिएका थिए । २०६८ सालमा पुल बनाउन निर्माण व्यवसायी कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ले ठेक्का पाएको थियो । ३ वर्ष ६ महिनामा कमला नदीमा ४७० मिटर लम्बाइ र ९ मिटर चौडाइको पुल बनाइसक्ने सम्झौता थियो । म्याद गुज्रँदै पप्पुले ७ वर्षमा पनि कमलामा पुलको निर्माण नसकेपछि हुलाकी सडक निर्देशनालयले सम्झौता तोड्दै २०७८ असार १३ सम्म निर्माण सक्नुपर्ने सर्त राख्दै अर्काे निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’लाई ठेक्का दियो ।
लुम्बिनी बिल्डर्सले पनि समयमा काम नसकेपछि अन्तिमपटक भनेर २०७८ फागुन ३० गतेसम्म पुलको काम सक्न पुनः म्याद थपियो तर सोही वर्षको बाढीले निर्माणाधीन पुलको ३ वटा पिलर नै भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भयो । पुनः पुल बन्ने नबन्ने अनिश्चितताका बीच २०७९ चैतमा तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक निर्माण तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले पुलको पुनःनिर्माण तत्काल सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
पुल निर्माणको म्याद आउँदो असारसम्मको छ तर निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवादले काम रोकिएको हुलाकी राजमार्ग निर्देशनालय जनकपुर कार्यालयका प्रमुख कृष्ण महतोले जानकारी दिए । ‘निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ तर निर्माण कम्पनीले बाढीले भासिएको पुलको बिमा रकम १२ करोड ७० लाख रुपैयाँ दाबी गरेकामा बिमा कम्पनीले १ करोड ९३ लाख रुपैयाँ मात्र दिएको भन्दै लुम्बिनी बिल्डर्सले काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेको छ । त्यो मुद्दा २ वर्षदेखि विचाराधीन छ भने पुलको काम रोकिएको छ’, प्रमुख महतोले भने ।
पुल निर्माणका लागि यहाँका स्थानीयले पटकपटक आन्दोलन गरे पनि सुनुवाइ हुन सकिरहेको छैन । यही बीचमा सिरहाका केही युवाले सोही क्षेत्रमा नयाँ पुलको माग गर्दै मधेस प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशनसमेत बसे । मुख्यमन्त्री सतिशकुमार सिंहसँँग प्रदेश सरकारले नयाँ पुल बनाउने सहमति भएपछि तत्कालका लागि अनशन तोडियो । अनसन बस्नेमध्येका सिरहा नगरपालिका–६ का वडाअध्यक्ष इन्द्रजित यादवले पुल नबन्दासम्म निरन्तर संघर्ष जारिरहने बताए । उनले भने, ‘मधेसको जीवनरेखा मानिएको कमला पुल नबन्दासम्म जीवनमरणको संघर्ष निरन्तर गरिरहने छौँ ।’
प्रतिक्रिया