हेटौँडामा युवती हत्याका आरोपी पक्राउ

हेटौँडा । हेटौँडामा ८ दिनअघि एक युवतीको हत्या गरेको अभियोगमा प्रहरीले हेटौँडा– ४ कमलडाँडा ३२ वर्षीय चाँद खाँ पैठान (समिर खान) लाई पक्राउ गरेको छ ।

भदौ ९ गते हेटौँडा– ११ नवलपुर बस्ने २२ वर्षीया अलिसा न्यौपानेको हत्यामा संलग्न रहेको आरोपमा पैठानलाई सोमबार साँझ हेटौँडा– ५ लटिनाथ मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भदौ ९ गते राति पैठान र मृतक न्यौपाने हेटौँडा– १० बसपार्कमा रहेको रत्ना होटलको २०५ नम्बरको कोठामा बसेका थिए । त्यस क्रममा सोही रात नै न्यौपानेको हत्या गरी पैठान फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ । १० गते बिहान न्यौपानेको शव होटलको कोठाभित्र फेला परेको थियो ।

हत्या आरोपी पैठानलाई भाग्न सहयोग गरेको अभियोगमा प्रहरीले पैठानकी आमा ५५ वर्षीया सैरुन खान र श्रीमती २६ वर्षीया रविना खातुनलाई समेत भदौ १५ गते नियन्त्रणमा लिएको थियो ।

यस्तै पैठानका ससुरा वीरगञ्ज– ३० लालपर्सा बस्ने ५६ वर्षीय लालबाबु खाँ पैठान र जेठान ३० वर्षीय फैयाज अहमदलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया