गाजामा महामारीबाट जोगाउन एकैपटक ६ लाख बढीलाई भ्याक्सिन

जेरुसेलम । गाजा क्षेत्रमा संयुक्त राष्ट्र संघ र स्थानीय स्वास्थ्यकर्मीले महत्वाकांक्षी भ्याक्सिनेसन योजना सुरु गरेका छन् । यस योजनाअन्तर्गत ६ लाख ४० हजारलाई भ्याक्सिन प्रदान गरिनेछ । आइतबारदेखि हमास र इजरायली सेनाबीच युद्ध विराम लागू भएसँगै यो अभियान सुरु भएको हो । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले १० मुनिका ९० प्रतिशसतलाई भ्याक्सिन दिइने बताएको छ ।

२५ वर्षमा पहिलोपटक १ बालकमा पोलियो देखिएपछि डब्लुएचओ अझ बढी गम्भीर भएको हो । अहिले नै धेरै जना संक्रमित भइसकेको हुन सक्ने तथा यो अभियान सुरु नभए अझ धेरै जनामा संक्रमण फैलिएर भयावह अवस्था आउन सक्ने ठहरसहित यो अभियान सुरु गरिएको हो ।

केही महिनाअघि अब्दुलरहमान अबु जायदन नामका बालक घिस्रिरहेको दृश्य सार्वजनिक भएको थियो । गाजाको केन्द्रमा अवस्थित शिविरमा बसोबास गर्दै आएका उनकी आमा निभनलाई छोरा हिँड्न पनि नसक्ने हुने हो कि भन्ने चिन्ता लागेको छ । पोलियो देखिएपछि उपचार नपाएको कारण अहिले ती बालक आंशिक मात्र होइन, पूर्ण रूपमा प्यारालाइसिसको जोखिम बढेको छ । छोरा हिँड्न पनि नसक्ने भएपछि आमाको मनमा ठुलो चिन्ता थपिएको छ ।

७ अक्टोबरका दिन हमासले प्यालेस्टाइनमा आक्रमण गर्दा १ हजार २०० जनाको ज्यान गएको थियो । त्यो सँगै नियमित भ्याक्सिन पाउने अपेक्षामा रहेका ती बालकले भ्याक्सिन पाउन सकेनन् । ज्यान जोगाउनकै लागि उनीहरू यस बीचमा ५ पटक एक स्थानबाट अर्को स्थानमा सरिसकेका छन् । सुरुमा केन्द्रीय गाजामा पुगेका उनीहरू दक्षिणको सहर रफाहा र त्यसपछि डेयर अल बलाहमा पुगेका थिए । यसरी वासस्थान नै सर्नु परेपछि धेरै बालकहरू नियमित भ्याक्सिनको अवसरबाट वञ्चित रहेका थिए । यसै कारण उनीहरूमा गम्भीर संक्रमणको जोखिम बढेको हो । अहिले गाजामा धेरै बालकको स्वास्थ्य परीक्षण गर्ने हो भने संक्रमण धेरै नै फैलिसकेको हुन पनि सक्छ ।

‘उसले भ्याक्सिन नपाएकोमा म दुःखित छु । तर, यो मेरो रहरभन्दा पनि परिस्थितिले उब्जाएको बाध्यता थियो,’ निभनले भनिन् । अहिले उनी नजिकै कुर्सीमा जीवन सीमित गराइरहेका आफ्नै छोराको हेरचाहमा व्यस्त छिन् । उनलाई आफ्नो छोराको जीवन यसरी बढेकोमा किञ्चित सुख महसुस छैन । तथापि यो नै उनको बाध्यता पनि थियो । जुन महिनामा त्यहाँ खेर गएको पानीमा रोगको संक्रमण देखिएपछि राष्ट्र संघले तत्काल भ्याक्सिनेसन अनिवार्य ठानेको हो ।

युनिसेफले अहिले केरम सालोमको चेक प्वाइन्टमा १३ लाख डोज भ्याक्सिन लगेको छ । यी सबैलाई चिसो स्थान तथा आवश्यक तापक्रममै सुरक्षित ढंगले राख्नु चुनौतीको विषय भई नै हाल्यो । केही समयपछि नै गाजामा अर्को ४ लाख डोज भ्याक्सिन लगिने योजना छ । मध्य गाजामा सुरु भएको यो युद्धविराम भने आंशिक हो । मध्य गाजापछि यो अभियान दक्षिण र उत्तरी गाजामा सर्ने छ । तर, युद्ध रोकिने समयको पनि सीमा छ । बिहानको ३ बजेदेखि साँझको ६ बजेसम्म मात्र युद्ध रोकिनेछ । आवश्यक परेमा यो समयमा अझ थप गरिने सहमति भएको छ ।

प्यालेस्टाइनी अधिकारीहरूले जनाएअनुसार ४०० स्थानमा केन्द्र छन् । यी केन्द्रमा लगभग ५ हजार स्वास्थ्यकर्मी तैनाथ छन् । दुईपटकमा हरेक बालकले २ थोपा पोलियोको डोज पूरा गर्नेछ । पहिलो डोजको ४ सातापछि दोस्रो डोज दिइनेछ । भाइरसको म्युटेसन हुँदै चाँडो फैलनुभन्दा अघि नै यी सबै काम गर्ने सवालमा डब्लुएचओ सतर्क छ ।

अहिले पाइएको नयाँ म्युटेसनको स्वरूप नै पोलियो थोपाबाट तयार भएको हो । पोलियो थोपा नै पनि भाइरसको केही अंश नभएको होइन । तीव्र भ्याक्सिन दिएर संक्रमण रोक्न नसकेमा यसले अर्को महामारीको सम्भावना पनि देखाएको छ । हतार गरेमा अर्को म्युटेसन भएमा भइरहेका भ्याक्सिनहरूले काम नदिने जोखिम पनि त्यत्तिकै छ ।

विश्व स्वास्थ्य संगठनका पोलियो उन्मूलन कार्यक्रममा पूर्वी भू–मध्य सागरीय क्षेत्रका निर्देशक डा.हमिद जफारीकै अनुसार अहिले नै समुदायलाई यो फैलिसकेको हुन सक्छ । यो फैलँदो क्रमलाई तत्काल नरोकेमा अर्को गम्भीर दुर्घटनासमेत हुन सक्छ । २३ लाख जनसंख्या भएको गाजामा आधाजसो बालबालिका छन् । यदि त्यहाँ महामारी नै फैलियो भने युद्ध त रोकिएला । तथापि लामो समयसम्म रहेमा यसले त्यहाँको समाज र जनजीवन नै तहसनहस भने बनाउन सक्छ ।

यसैबीच, इजरायली सेनाले हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिएको जनाएको छ । इजरायली सेना (आइडिएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् । आइडिएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग–पोलिन, अलेक्ज्यान्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ ।
मारिएका बन्धकहरूमध्ये अमेरिकी नागरिकको मृत्युप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निराश र आक्रोशित भएको बताएका छन् । ती सबैलाई हमासले अक्टोबर ७, २०२३ मा बन्धक बनाएको थियो ।

प्रतिक्रिया