‘सोमवार माओवादी केन्द्रीय समिति’

काठमाडौं, ११ चैत । प्रमुख सत्तारुढ दल एकीकृत माओवादीको संस्थापन पक्षले अन्तरसंघर्ष, शान्ति र संविधानलगायतका बिषयमा छलफल गर्न आगामी सोमवार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी मुख्यालय कोटेश्वर पेरिशडाँडामा सोमबारदेखि सुरु हुने बैठकमा बिशेष गरेर पार्टीको आन्तरिक बिवाद, बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहको आन्दोलन तथा मागका बिषयमा छलफल हुने छ ।

स्थायी समिति सदस्य कृष्णबहादुर महाराका अनुसार बैठकले पार्टी भित्रदेखिएको अन्तरविरोधलाई समाधान गर्ने बताए । उनले भने, ‘बिशेष गरेर केही साथी सडक संघर्षमा उत्रिनुभएको छ, त्यसलाई मिलाउने प्रयास गर्छौं ।’

संस्थापन पक्षले केन्द्रीय समिति बोलाएपछि बैद्य समूहले बैठकका बारेमा अनभिज्ञता जनाएको छ । उनीहरुले केन्द्रीय समितिको बैठक बोलाईएका बिषयमा आफूहरुलाई थाहा नरहेको बताएका छन् । केन्द्रीय समिति बैठक महासचिव रामबहादुर थापाले बोलाउने परम्परा रहेपनि उहाँलाई नै बैठक बारेमा जानकारी नरहेको एक सदस्यको भनाई छ ।

‘पार्टी बिधान अनुसार अध्यक्षको निर्देशनमा महासचिवले केन्द्रीय समिति बैठक बोलाउनु पर्छ’ एक सदस्यले भने । बैठकका बारेमा अनभिज्ञत जनाएपछि बैद्य समूहले केन्द्रीय समिति बहिस्कार गर्ने संकेत जनाई सकेको छ ।

जनविद्रोह सम्बन्धी पार्टी राजनीतिक आधिकारीक धारणा छाडेको भन्दै बैद्य समूह संस्थापन पक्षका बिरुद्ध आन्दोलनमा उत्रिएको छ । साना केही समूह र दललाई मोर्चा बन्दी बनाई सडक संघर्ष घोषणा गरिसकेको छ ।

प्रतिक्रिया