६ वर्षपछि हेटौँडामा साइकल जात्रा गर्दै जेसिज

हेटौँडा । हेटौँडा जेसिजको आयोजनामा हेटौँडामा ६ वर्षपछि साइकल जात्रा २०८१ हुने भएको छ । मकवानपुर साइक्लिङ संघको सहकार्यमा भदौ १५ गते साइकल जात्रा हुने हेटौँडा जेसिज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए ।

सन् २०१७ बाट वार्षिक रुपमा गर्ने गरी सुरु भएको साइकल जात्रा २०१८ को दोस्रो संस्करणपछि रोकिएको थियो । यसपटक हेटौँडाको हुप्रचौरबाट सुरु हुने साइकल जात्रामा २५० भन्दा बढीले सहभागिता जनाउने जेसिजले अपेक्षा गरेको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार भदौ १५ गते शनिबार बिहान ६ बजे सुरु हुने साइकल जात्रा हेटौँडाको कपुर कम्प्लेक्स, चौकीटोल, सानोपोखरा, चुच्चेखोला, हटिया, कमाने, हनुमान गेट, सिमेन्ट रोड, पान्तले, कुस्माण्ड सरोवर हुँदै जेसिज सचिवालयमा टुंगिने छ । यसक्रममा साइकल जात्राका सहभागीले कूल ३७.५ किलोमिटर यात्रा तय गर्ने बताइएको छ ।

जात्रामा सहभागीताका लागि २०० रुपैयाँ दर्ता शुल्क कायम गरिएको बताउँदै अध्यक्ष श्रेष्ठले सहभागीहरुका लागि बिहानको खाजा तथा खाना र टिसर्ट उपलब्ध गराउने जानकारी दिए । जात्रामा मकवानपुर बाहिरका साइकल यात्रीले समेत सहभागिता जनाउने उनले बताए ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया