स्मारिका ‘इलाम’ विमोचन

इलाम । नेपाल पत्रकार महासंघ इलामद्वारा प्रकाशित स्मारिका ‘इलाम’ मंगलबार विमोचन भएको छ । सदरमुकाममा आयोजित कार्यक्रममा कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले स्मारिका विमोचन गरे ।

इलामको पत्रकारिता क्षेत्र र समग्र जिल्लालाई समेटेर नेपाल पत्रकार महासंघ इलामले स्मारिका प्रकाशन गरेको हो । स्मारिकामा इलामको पत्रकारिताको इतिहास, वर्तमान अवस्था, भावी योजना, पत्रकारिता क्षेत्रका समस्या, चुनौती, सम्भावना तथा इलामसँग सम्बन्धित विभिन्न आलेख र जिल्लाका पालिकाहरूको परिचय समावेश गरिएको छ ।

स्मारिकामा खण्ड–१ मा पत्रकारिता क्षेत्रसँगसम्बन्धी आलेख ३० वटा, खण्ड–२ मा इलामसँग सम्बन्धित आलेख १६ वटा र खण्ड–३ मा इलामका १० वटा पालिकाको परिचय समावेश गरिएको नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले बताए ।

उनले स्मारिकामार्फत इलामे पत्रकारले समाज रूपान्तरणमा गरेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै पत्रकारले देखेको इलाम र जिल्लाको समग्र क्षेत्रमा भएको रूपान्तरणलाई नियाल्ने प्रयास गरिएको बताए ।

‘हामीले समाज रूपान्तरणमा गरेको नेतृत्वदायी भूमिका स्मरण गर्दै इलाम र जिल्लाको समग्र क्षेत्रमा भएको रूपान्तरणलाई नियाल्ने प्रयास गरेका छौँ’, अध्यक्ष भट्टराईले भने, ‘भावी पुस्ताका लागिसमेत महत्वपूर्ण दस्तावेज तयार गर्ने कोशिस गरिएको छ ।’

नेपाल पत्रकार महासंघ इलामले पहिलोपटक खोजमूलक स्मारिका प्रकाशन गरेको हो । त्यसैगरी सोही कार्यक्रममार्फत नेपाल पत्रकार महासंघ इलामको आधिकारिक वेबसाइट सार्वजनिक गरिएको छ ।

पत्रकारिता क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री मगर


कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पत्रकारिता क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ इलामले मंगलबार सदरमुकाममा आयोजना गरेको सञ्चार क्षेत्रको विकासमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री मगरले सो कुरा बताएका हुन् । मन्त्री मगरले परिवर्तन र विकासमा पत्रकारिता क्षेत्रको भूमिका सराहनीय रहँदै आएको बताए ।

‘मुलुकको व्यवस्था परिवर्तन गर्न भएका विभिन्न आन्दोलनहरूमा राजनीतिक दल र पत्रकारबीच सहकार्य हुँदै आएको छ, अब अवस्था परिवर्तनमा समेत उत्तिकै सहकार्य जरुरी छ’, मन्त्री मगरले भने, ‘पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन आवश्यक छ, त्यसका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।’

मन्त्री मगरले मुलुकमा समाजको विकास तथा सुशासन कायम गर्नका लागि पत्रकारित क्षेत्रको भूमिका सराहनीय रहेको उल्लेख गर्दै मगरले पत्रकारिता क्षेत्रको विकासमा प्रदेश सरकारको सहयोग रहने प्रतिवद्धता जनाए ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा इलामसहित झापा, पाँचथरका पत्रकारहरूको सहभागिता थियो ।

प्रतिक्रिया