बारा । १ लाख ७१ हजार २८० रुपैयाँ नगदसहित प्रहरीले बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरबाट १३ जना प्रतिष्ठित व्यक्तिहरूलाई जुवाखालबाट पक्राउ गरेको छ । गढीमाई ट्रस्टका पूर्वसचिवसमेत रहेका मोतिलाल प्रसाद कुशवाहाको घरमा जुवा खेलाइरहेको सूचना पाएर छापामार्दा घरमा खेलिरहेको अवस्थामा जुवाको खालबाटै उक्त नगदसहित विभिन्न राजनीतिक दल र व्यपारिक प्रतिष्ठानमा आवद्ध ती प्रतिष्ठित व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । २ दिनअघि पक्राउ परेका जुवाडेहरूको विवरण र बरामद नगदबारेको सूचना सार्वजनिक गर्दै प्रहरीले जुवाडेहरूलाई कुनै हालतमा नछाड्ने संकेत प्रहरी अधिकारीले गरेका छन् ।
प्रहरीचौकी बरियारपुरको पुरानो कार्यालय नजिकै रहेको उक्त घरमा पहिलादेखि नै यसरी जुवा खेलाइँदै आएको स्थानीयले बताएका छन् ।
राजनीतिक पहुँच भएका ती जुवाडेहरूलाई कानुनी दायरामा ल्याउन र उनीहरूमा भएको गलत बानी हटाउन प्रहरीले हिम्मत जुटाएर अगाडी बढेको नागरिक अगुवाहरूले बताएका छन । पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको मुद्दामा अदालतबाट म्याद थप गराई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
जुवाको खालबाटै घरधनी ५३ वर्षीय मोतिलालसहित महागढीमाई नगरपालिका–१ बस्ने ५६ वर्षीय राजेन्द्र साह कानु, ४३ वर्षीय मनोजप्रसाद कुशवाहा, ५० वर्षीय विनोद प्रसाद, ६० वर्षीय जतिकर हुसेन, ४० वर्षीय मोतिलाल प्रसाद कुशवाहा, ४३ वर्षीय राजु प्रसाद कुशवाहा, ५० वर्षीय अच्छेलाल महतो, ५९ वर्षीय कस्तुरी साह, सोही नगरपालिका–२ बस्ने ३८ वर्षीय राजकिशोर प्रसाद कुशवाहा, ४१ वर्षीय जितेन्द्र तिवारी, सुवर्ण गाउँपालिका–२ बस्ने ४८ वर्षीय शुकदेवप्रसाद यादव र ३५ वर्षीय मुस्ताक खान पैठानलाई नगदसहित नियन्त्रणमा लिइएको डिएसपी सापकोटाले जानकारी दिए ।
‘पक्राउ परेका सबैजनालाई प्रहरी हिरासतमा राखेर कानुनी कारबाही सुरु गरिएको छ’, डिएसपी सापकोटाले भने, ‘उनीहरूलाई कुनै हालतमा छोडिदैन, जे हुन्छ अदालतबाटै हुन्छ ।’ प्रहरी कार्यालयबाट छाडिने कुनै चान्स नै नभएको उनले बताए ।
मोतिलालको घरमा सञ्चालन हुँदै आएको जुवाको खालमा एकपटकमा कम्तीमा ५ लाखदेखि २५ लाख सम्मको दाउ लाग्ने गरेको स्थानीयले नाम नछाप्ने सर्तमा बताए । विगतका प्रहरी अधिकारीलाई आर्थिक प्रलोभनमा पारी निर्वाध रूपले उक्त घरमा जुवा खेल सञ्चालन हँुदै आएको स्थानीयको आरोप छ । यसपालि प्रहरीले विशेष सुराकीको आधारमा उनीहरूलाई रंगेहात पक्राउ गरेपछि त्यहाँ सञ्चालन हुँदै आएको जुवाको अड्डाबारे खुलासा भएको बताइएको छ ।
प्रतिक्रिया