तीन हप्तापछि खुल्यो गमगढी–तारापानी–सोरुकोट सडक

मुगु । अवरुद्ध भएको तीन हप्तापछि गमगढी–तारापानी सडक खुलेको छ । सोरु गाउँपालिका– ८ आशिधारा खोला भन्ने स्थानमा पहिरो आएर करिव ३०० मिटर सडक लगेपछि गत महिनाको १५ गतेबाट यो सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकातर्फ जाँदा र सदरमुकाम गमगढीतर्फ आउँदा तीनवटा गाडी फेर्नुपर्ने बाध्यता थियो भने पहिरो पार गर्दा जोखिम मोलेर दौडनु पर्ने अवस्था थियो ।

गाउँ पालिकाले ४ गतेदेखि नै पहिरो पन्छाउन खोजे पनि वर्षा भइरहेको र थप माथिमाथि पहिरो आएर काम गर्ने स्काभेटरसमेत पुरिने सम्भावना देखिएपछि केही दिन सडक खुलाउने काम रोकेको तथा मौसममा केही सुधार आएकाले पुनः काम सुरु गरी सोमबारबाट यो खण्ड सूचारु भएको उक्त सडकमा कामको जिम्मा लिएका निर्माण व्यवसायी बलिराज शाहिले जानकारी दिए ।

‘कर्णाली प्रदेश सरकार मातहतको यो सडक खुलाउन प्रदेश सरकारले आजसम्म कुनै पहल गरेको छैन, गत वर्ष पनि सोही स्थानमा पहिरो आउँदा महिना दिन सडक अवरुद्ध भएको थियो, त्यो बेला पनि सोरु गाउँपालिकाले विकास बजेट काटेर सो ठाउँ पहिरो पन्छाएर सडक खुलाएका थियौँ,’ सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजंग शाहीले भन्नुने ।

पहिरो गएको आशिधारा खोलाको ५ गते प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, सशस्त्र प्रहरी नायव उपरिक्षक नवराज विक्रम कुँवर, नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्ल र सोरु गाउँपालिकाका उपाध्यक्ष केशरजंग शाहीसहितको टोलीले स्थलगत अवलोकन समेत गरेको थियो ।

सो अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले स्थायी समाधान गर्न करोडौँ बजेट लाग्ने देखिएको र त्यो प्रदेश र संघीय सरकारले भोलिका दिनमा गर्लान् भन्दै स्थानीयलाई तत्काल समस्या समाधान र जनतालाई सहजता दिन पहिरो पन्छाएर अस्थायी ट्रयाक खोल्न गाउँपालिकालाई सुझाव दिएका थिए । गमगढी–तारापानी २३ किमि सडक खुले पनि तारापानी–सोरुकोट २२ किमि सडक अझै अवसुद्ध छ ।

यो खण्डको सिपपहिरो भन्ने ठाउँमा सुख्खा खोलामा बाढी आएर सडक बिगारेको छ । तारापानीसम्म सडक खुलाएको र अब सिपपहिरोको अवरोध पनि २–४ दिनमै हटाएर गाउँपालिका केन्द्र सोरुकोटसम्मै सडक नियमित बनाउने उपाध्यक्ष शाहीले बताए ।

गत वर्ष पनि सोही स्थानमा ठूलो पहिरो गएकाले जनताको अन्य विकास योजना काटेर सामान्य सडक खुलाएको र यस पटक पनि उधारोमा पहिरो पन्छाएको भन्दै गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले भने, ‘पालिकाको कुनै विकास काटेर तिर्नु पर्छ, आफ्नो मातहतको सडक नभए पनि कर्णाली प्रदेश सरकार कानमा तेल हालेर बसेको छ, हाम्रा जनताले दुःख पाउने भएकाले उधारोमा मनाएर भए पनि सडक खुलाएका छौ ।’

प्रतिक्रिया