हेटौँडा । समयमै उपचार नपाउँदा बाघ मारेर चर्चा बटुलेको मकवानपुरको मनहरीको घाइते भैंसीको घाउ ठीक हुन सकेको छैन । बाघको दाह्रा नङ्ग्राले बनाएको गर्धनको घाउका कारण आइतबारदेखि घाँस र पानी खान नसकेको भैंसीधनीले बताएका छन् ।
घाइते भैंसीको उपचारका लागि शनिबार चितवन राष्ट्रिय निकुन्जका पशु प्राविधिकहरु समेत मनहरी पुगेका थिए । निकुन्जका पशु स्वास्थ्य प्राविधिक दिनेश ढकालले भैंसीले सुरुमा राम्रो उपचार पाउन नसकेका कारण घाउको अवस्था केही जटील बनेको बताए ।
बाघले आक्रमण गरेर घाउ बनाएको ठाउँमा बाहिरबाट सामान्य देखिए पनि भित्री चोट त्योभन्दा गम्भीर हुने उनको भनाइ छ । ‘गाउँलेहरुले सुरुमा मन्जन, ब्याट्रीको कालो जस्ता बस्तु घाउमा लगाएर घरेलु उपचार गर्न खोजेकाले पनि घाउको भित्री भागमा संक्रमण देखिएको छ’, ढकालले भने । उनले गाउँपालिकाका प्राविधिकहरुसँगको समन्वयमा थपउपचार अघि बढाउने बताए ।
निःशुल्क उपचार गरिरहेको मनहरी गाउँपालिकाका पशु विकास अधिकृत प्रदिप बर्तौलाका अनुसार गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिकहरुले नियमित रुपमा सो भैंसीको उपचार गरिरहेका छन् । आइतबार दिउँसो पनि प्राविधिक अनिलकुमार यादवले भैंसीको घाउको ड्रेसिङ गरी ज्वरोको औषधि दिएको बर्तौलाले बताए ।
बाघको आक्रमणका कारण भएका घाउमा संक्रमण रोक्नका लागि प्राविधिकले एन्टिबायोटिक समेत चलाएको पशु विकास अधिकृत बर्तौलाले जानकारी दिए । गाउँपालिकाले भैंसीको उपचार निःशुल्क गरिरहेको भए पनि धनीलाई थप क्षतिपूर्ति दिने विषयमा भने छलफल नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।
भदौ ६ गते बिहान मकवानपुरको मनहरी गाउँपालिका ६, प्रतापपुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीले बाघको आक्रमणको प्रतिकार गर्दा बाघ मरे पनि भैंसी पनि घाइते भएको थियो । भैंसीको गर्धनमा बाघको दाह्रा र नङ्ग्राका चोटहरु देख्न सकिन्छन् ।
गत बिहीबार घटना भएदेखि नै बाघ मार्ने बहादुर भैंसीका रुपमा सो भैंसीको देशव्यापी रुपमा चर्चा भइरहेको छ । यद्यपि पशु चिकित्सकहरुले सो बाघ पहिलेदेखि नै चोट र भोकका कारण अत्यन्तै कमजोर अवस्थामा रहेकाकाले भैंसीको प्रतिकार झेल्न नसकी मरेको उल्लेख गरेका थिए ।
मकवानपुर
प्रतिक्रिया