‘शैक्षिक गुणस्तर विकासका लागि प्रदेशमा शैक्षिक पार्क बनाइने’

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक पार्क बनाइने बताएका छन् ।

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१औँ शताब्दीको सीप प्रवद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेस प्रदेशका सन्दर्भमा नवीन र महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री सिंहले पदभार ग्रहण गरेकै बेला प्रदेशका महत्वपूर्ण नवप्रवर्तनका योजनामा खुला शैक्षिक पार्क निर्माणको योजना रहने जानकारी दिएका थिए । संस्कृत विद्यालयमा खुला शैक्षिक पार्क सञ्चालन गर्ने विषयमा खाका तयार गर्न केही दिनमै प्राविधिक खटिनेसमेत उनले जानकारी दिए । मुख्यमन्त्री सिंहले विज्ञहरूको परामर्श र आधुनिक शिक्षाका परिवेशलाई ध्यानमा राखेर खुल्ला शैक्षिक पार्कको योजना निर्माण गरिएको र यसलाई पहिलो चरणमा मधेस प्रदेशका ८ वटै जिल्लामा १–१ वटा स्थापना गर्ने नीति लिइएको बताए ।
सो अवसरमा उनले खुला शैक्षिक पार्कलाई मधेसको कमजोर शैक्षिक अवस्था सुधार गर्ने एक नयाँ प्रयोगको रूपमा लिइएको र यसले विद्यार्थी तथा अभिभावकले नयाँ तरिकाले शैक्षिक ज्ञान र सीप सिक्ने विश्वास व्यक्त गरे ।
खुल्ला शैक्षिक पार्क पाठ्यक्रम कार्यन्वयनको नयाँ र सिकाइमैत्री अवधारणा हो । शिक्षाविद् तथा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यदुप्रसाद ज्ञवालीका अनुसार शैक्षिक पार्कले विद्यार्थीहरूको जिज्ञासा र रुचि बढाउन मद्दत गर्नेछ । थियरी अफ मल्टिपल इन्टेलिजेन्स, सामाजिक शिक्षा सिद्धान्तहरू र २१औँ शताब्दीका सीपलाई मुख्य आधार मानेर शैक्षिक पार्कमा विद्यालयस्तरका पाठ्यक्रमसँग मेल खाने गरी फरक–फरक विभागहरू हुनेछन् ।
ती विभागहरूमा विज्ञान र प्रविधि, गणित, भाषा, संस्कृति र इतिहास, मस्तिष्क विज्ञान, र शारीरिक तथा मानसिक कल्याणजस्ता विषयहरू समावेश हुनेछन् ।

मधेसको शैक्षिक अवस्था सुधारमा यो प्रयोग महत्वपूर्ण हुने बताइएको छ । सुशासन र संस्थागत विकासविज्ञ हरिहर न्यौपानेका अनुसार यो पार्कले अन्तरक्रियात्मक शिक्षण विधिबाट विद्यार्थीहरूको सोच परिवर्तन गर्नेछ । मधेस प्रदेशको गुणस्तरीय शिक्षा विकासको आवश्यकतालाई ध्यानमा राखेर यो अवधारणा निर्माण गरिएको र यसले विद्यार्थी, अभिभावक, शिक्षक, र सरोकारवालालाई बदलिँदो परिवेशअनुसार थप ज्ञान प्राप्तिको अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

पूर्वाधारविज्ञ इन्जिनियर रञ्जित सिंहका अनुसार यसले विद्यार्थीहरूलाई सिकाइमा सजिलो पहुँच प्रदान गर्नेछ र प्रविधिमैत्री वातावरण निर्माण गरी मधेस प्रदेश मात्र नभई देशभरका विद्यार्थीहरूले यसबाट लाभ उठाउन सक्नेछन् । खुल्ला शैक्षिक पार्कमार्फत हुने प्रत्यक्ष सिकाइ विधिको यो प्रयोग नेपालमा नयाँ हुनेछ । यसको प्रयोगबाट शिक्षाको गुणस्तरमा के कस्तो नतिजा प्राप्त हुन्छ सोहीअनुसार थप योजना बनाउन सकिने सरोकारवालाहरूको मत रहेको छ ।

प्रतिक्रिया