वडाध्यक्ष साहमाथि यौन शोषणको आरोप : छानबिन समिति गठन

रौतहट । रौतहटको मौलापुर नगरपालिका– ९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि लगाइएको महिलाको यौन शोषणको आरोपबारे नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको छ ।

वडाध्यक्ष साहमाथि गाउँकै एक महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएपछि नगरपालिकाले यस घटनाको सत्यतथ्य बुझ्न नगरप्रमुख रिना साहको निर्देशनमा पाँच सदस्सीय छानबिन समिति गठन गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार सामाजिक सञ्जालमा वडाध्यक्ष साहको बारेमा आएको विषयको सत्यतथ्य बुझ्नको लागि नगर उपप्रमुख नागेन्द्र यादवको नेतृत्वमा पाँच सदस्सीय छानबिन समिति बनाइएको हो ।

सो समितिलाई १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेश गर्न समय दिइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिले प्रतिवेदन पेश गरेपछि कारवाहीको सम्बन्धमा कार्यपालिकाले निर्णय लिने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

छानबिन समितिमा वडा नम्बर १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अच्छेलाल साह अधिकृत छैठौँ सदस्य रहेका छन् ।

प्रतिक्रिया