हेटौँडामा राजश्व विवाद : नगरसभा सदस्यद्वारा विशेष नगरसभा माग

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले अस्वाभाविक राजश्व दर वृद्धि गरेको भन्दै व्यवसायीहरु आन्दोलनरत रहँदा बहुमत नगरसभा सदस्यले विशेष नगरसभा बैठकको आह्वान गरेका छन् । कूल ९४ सदस्य कायम रहेको नगरसभामा नेकपा एमालेका तर्फबाट निर्वाचित ४८ सदस्यले विशेष नगरसभाको आह्वान गरेका हुन् ।

नेकपा एमालेका तर्फबाट हेटौँडा उपमहानगरपालिकामा निर्वाचित ९ वटा वडाका वडाध्यक्षसहितका सदस्यहरुले व्यवसायीहरुले उठाउँदै आएका मागअनुसार करवृद्धि संशोधन आवश्यक देखिएको भन्दै स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९ को उपदफा ३ बमोजिम विशेष नगरसभा बैठकको माग गरेका हुन् ।

विशेष नगरसभा बैठक माग गरिएको पत्र बुझाउनका लागि उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँ दुवै उपलब्ध नभएपछि प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई पत्र बुझाएका थिए ।

विशेष नगरसभा माग गरिएको विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले विगतमा नगरसभाबाट जे जसरी सो सम्बन्धमा निर्णय भएको भए पनि अब त्यसलाई सच्याएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

‘समस्या देखाउने मात्र होइन, विकल्प पनि दिनुपर्छ’ सिग्देलले भने, ‘गल्ती हामीबाट पनि भएको छ, गल्ती भयो भनेर जनताका बिचमा उभिन तयार छौँ ।’ उनले राजश्व परामर्श समितिमा करको दायरा बढाउने विषयमा छलफल भए पनि दर बढाउने विषयमा कुनै छलफल नभएको दाबी गरे । समस्या समाधानका लागि नगर प्रमुख तथा उपप्रमुखसँग पटक–पटक छलफल गर्न खोजे पनि सम्पर्कमा आउन नखोजेको सिग्देलले बताए ।

नगरप्रमुख लामाले भने आफूहरुको आन्दोलनरत सबै पक्षका साथै नगरसभा सदस्यहरुसँग नियमित सम्पर्कमै रहेको दाबी गरेकी छन् । श्रीमान्को उपचारका क्रममा हाल काठमाडौं रहेकी लामाले सौर्य दैनिकसँग कुरा गर्दै विशेष नगरसभा माग भएको सम्बन्धमा कानुनी परामर्शपछि अघि बढ्ने बताइन् ।

‘आफ्नो पारिवारिक दायित्वले नगरबाहिर रहे पनि व्यवसायीहरुसँग प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुख मार्फत निरन्तर समन्वय गरिरहेको छु’, लामाले भनिन् । व्यवसायीहरुको आन्दोलनका विषयमा बोल्दै लामाले विगत ७ वर्षदेखि उपमहानगरपालिकाको करको दर समायोजन नभएकाले यसपटक समायोजन गर्ने प्रयास मात्र भएको उल्लेख गरिन् ।

अस्वाभाविक राजश्व वृद्धि भएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा ५ दिने आन्दोलनको घोषणा गरेका व्यवसायीहरुले बुधबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । उनीहरुले बुधबार उपमहानगरपालिकाको गेटमा १ घन्टा धर्ना दिएका थिए ।

त्यसअघि राजश्व दर वृद्धिको विरोधमा व्यानर सहितको जुलुसले नगर परिक्रमा गरेको थियो । व्यवसायीहरुले नगरका विभिन्न स्थानमा कालो व्यानर राखेर विरोध गर्नुका साथै राजश्व वृद्धि विरुद्ध हस्ताक्षर संकलन कार्यलाई बुधबार पनि जारी राखेका छन् ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया