जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल दूरसञ्चार प्राधिकरणको सेवा प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । उनले नेपाल दूरसञ्चार प्राधिकरण, प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेसहितका प्रतिनिधिसँग सो विषयमा मंगलबार छलफल गरेका हुन् ।
मुख्यमन्त्री सिंहले विशेष गरी वन क्षेत्रमा सर्वसाधारणले भोगिरहेको नेटवर्कको समस्यालाई निराकरण गर्न प्राधिकरणलाई आग्रह गरेका छन् । उनले प्राधिकरणका प्रनितिधिलाई छलफलको क्रममा नेपालको एक मात्र सरकारी दूरसञ्चार कम्पनी नेपाल दूरसञ्चार प्राधिकरणको सेवा राम्रो र स्तरीय बनाउन पनि सुझाव दिए ।
मुख्यमन्त्री सिंहले खासगरी मधेस प्रदेश महोत्तरी जिल्लादेखि पर्सासम्मको महेन्द्र राजमार्गमा पर्ने जंगल क्षेत्रमा नेटवर्कको निकै समस्या रहेको हुँदा सो समस्यालाई समाधान गर्न सुझाए । मुख्यमन्त्री सिंहले भने, ‘जंगलको सो क्षेत्रमा नेटवर्क नहुँदा दैनिकजसो सयौँ आमसर्वसाधारणलाई समस्या हुने गरेको छ । त्यसैले सो समस्या सक्दोचाँडो अन्त्य गर्न उपाय खोजियोस् ।’ त्यस क्षेत्रमा दुर्घटना हुँदा, गाडी बिग्रिदा वा यात्राको क्रममा कुनै आकस्मिक समस्या पर्दा सर्वसाधारणहरूलाई नेटवर्क नहुँदा ठुलो समस्या हुने गरेको छ ।
मुख्यमन्त्री सिंहले प्रदेशको सबै जिल्ला, नगरपालिका र गाउँपालिकाहरूमा इन्टरनेटको सेवा सुविधा चुस्तदुरुस्त बनाउन पनि प्राधिकरणका प्रतिनिधिलाई आग्रह गरे । सूचना प्रविधिमै स्नाकोत्तर गरेका मुख्यमन्त्री सिंहले अहिले जनताको सेवा सुविधालाई प्रविधिमैत्री बनाउन सक्रिय भएका छन् ।
प्रविधिमैत्री सरकारको धारणा बनाएका उनले प्रदेशको सार्वजनिक सेवा प्रभावकारी, उत्तरदायी, पारदर्शी र तथ्यपरक बनाउन लागि परेका छन् । प्रदेशवासीको घरघरमा इन्टरनेट र सहज नेटवर्कको सुविधा पुगे मात्रै सरकारको प्रविधिमैत्री योजनाहरू सफल हुने हुँदा उनी अहिले चौतर्फी रूपमा सम्बन्धित निकायहरूसँग सेवा बिस्तारका लागि समन्वय गरिरहेका छन् ।
निरन नेपालको वार्षिक प्रगति विवरण सार्वजनिक
राष्ट्रिय अन्तर धार्मिक सञ्जाल नेपाल(निरन)ले वार्षिक प्रगति प्रस्तुत गरेको छ । बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा विभिन्न धर्म समुदायमा खास गरेर बालविवाह, महिला हिंसामा न्यूनीकरणमा भएको प्रगतिको विषयमा विभिन्न धर्मका धार्मिक गुरुले आआफनो मन्तव्य राखेका थिए ।
कार्यक्रममा मधेस प्रदेशकी शिक्षामन्त्री रानी शर्मा तिवारीले निरनले विभिन्न धर्मका गुरुलाई एकजुट गरी आआफ्नो समुदायमा रहेको पछौटेपन हटाउन गरिएको प्रयास राम्रो रहेको बताइन् । उनले अहिले विभिन्न धर्मका नाममा उक्साएर धार्मिक झगडा फैलाउँदै प्रयास भएको अवस्थामा सबै धर्माबलम्बी एकजुट हुनु आवश्यक रहेको र निरन संस्थाले गरेको प्रयास सराहनीय रहेको बताइन् ।
कार्यक्रममा मधेस प्रदशकी पूर्वराज्यमन्त्री शारदा थापाले संस्थाले बालविवाह रोक्नमा गरेको प्रयास र मुस्लिम धर्माबलम्बीहरूलाई मदरसा शिक्षाबाहेक विद्यालय शिक्षामा पनि लगाव बढाएको प्रति संस्थाको सराहना गर्दै मुस्लिम धर्ममा रहेको तलाक प्रथालाई अन्त गर्न मुस्लिम धर्मगुरुलाई आग्रह गरेकी थिइन् । कार्यक्रममा पूर्वराज्यमन्त्री रंजु मण्डल खंगले समेत संस्थाको प्रगतिको सराहना गरेकी थिइन् ।
निरन नेपालका अध्यक्ष भिक्षु पियादशी महर्जनको अध्यक्षमा भएको कार्यक्रममा संस्थाका महासचिव देबीप्रसाद लम्साल, मौलाना अनिसुल रहमान, प्रध्यापक शोभाकान्त झा, लक्ष्मी सुनार पासवान लगायतले धारणा व्यक्त गरेका थिए भने संस्थाकी सहजकर्ता शेख नाहिदा बानोले संस्थाको प्रगति विवरण सार्वजनिक गरेकी थिइन् ।
प्रतिक्रिया