जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यले संघीयता धरापमा पर्ने भन्दै जसपा नेपालका युवा विद्यार्थीले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । समाजवादी युवा संघ तथा समाजवादी विद्यार्थी युनियनको अगुवाइमा युवा विद्यार्थीको एक समूहले जनकपुरधाममा सिट्टी जुलुस प्रदर्शन गर्दै विरोध गरेका छन् ।
जनकपुरधामको जनकचौकबाट सुरु भएको विरोध र्याली मधेस भवनतर्फ अगाडि बढ्दा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजे पनि युवा विद्यार्थी प्रहरीको घेरा तोड्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।
‘केपी ओलीका मतियार मुख्यमन्त्री, संघीयता मास्न पाइँदैन’ सहितका नारा र प्लेकार्डसहित युवा विद्यार्थीहरूले विरोध गरेका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबार सिट्टी र खबरदारी जुलुस प्रदर्शन गरेका उनीहरू मंगलबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने र बुधबार धर्ना सम्मको कार्यक्रम तय गरिसकेको छ ।
प्रतिक्रिया