राजस्व दर वृद्धिको विरोधमा व्यवसायीद्वारा आन्दोलन घोषणा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि राजस्वको दर वृद्धि गरेको विरोधमा व्यवसायीहरूले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आइतबार साँझ बसेको बैठकले राजस्व दर वृद्धिको विरोधमा पहिलो चरणमा सोमबारदेखि शुक्रबारसम्मका लागि ५ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संघका उपाध्यक्ष उज्ज्वल चौलागाईंकाअनुसार व्यवसायीहरूले उपमहानगरपालिकाले गरेको राजस्व दर वृद्धिको विरोधमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । यस्तै व्यवसायीहरूका समस्यालाई स्थानीय सरकारले बेवास्ता गरेकाले सोको प्रतीकात्मक विरोध स्वरूप दिउँसै मैनबत्ती बालेर सरकार कहाँ छ ? भनी खोज्ने र पाँचौँ दिन आआफ्ना व्यापार व्यवसाय बन्द गरेर उपमहानगरपालिकालाई साँचो बुझाउने कार्यक्रम तय भएको चौलागाईंले जानकारी दिए ।

व्यापार व्यवसाय सुस्ताएको अवस्थामा कतिपय करको दर शतप्रतिशतसम्म वृद्धि गरेर स्थानीय सरकारले अन्याय गरेको व्यवसायीहरूको भनाइ छ । संघले आइतबार हेटौंडा उपमहानगरपालिकासँग चालु आर्थिक वर्षका लागि राजस्वको दर वृद्धि गर्ने प्रक्रियाको चरणवद्ध निर्णय मागसमेत गरेको छ ।

राजस्व परामर्श समिति, कार्यपालिका र नगरसभा तीनै चरणमा राजस्व वृद्धि गर्ने निर्णयको प्रति उपलब्ध गराउन माग गर्दै संघले उपमहानगरपालिकाका प्रमुखप्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई पत्र बुझाएको हो । संघका अध्यक्ष कृष्णकुमार गुप्तासहितको टोलीले आइतबार नै कानुन व्यवसायीसँगको परामर्शपछि प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बुझाएको हो ।

पत्र बुझ्दै प्रमुखप्रशासकीय अधिकृत गौतमले राजस्व वृद्धि गर्ने प्रक्रियामा कमजोरी भएको स्वीकार गरेका छन् । उनले सरोकारवालाहरूसँग पर्याप्त छलफल नभई राजस्वको दर परिवर्तन गर्ने निर्णय लिइएकाले अहिलेको विवाद देखिएको बताए । करको दर वृद्धि गर्ने विषयमा स्पष्ट छलफल नभएको नगरसभा र कार्यपालिकाका सदस्यहरूले समेत बताउँदै आएका छन् ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया