जनकपुरधाम । नागरिकको संवैधानिक र मानवअधिकारसम्बन्धी हकमा पहुँचबारे धनुषाका सञ्चारकर्मीहरूसँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दलित समाज उत्थान समिति नेपालको आयोजनामा धनुषाका करिव २ दर्जन पत्रकारहरूसँग भएको कार्यक्रममा नागरिकको संवैधानिक र मानवअधिकार, नयाँ फौजदारी, देवानी र प्यानल संहिताबारे नागरिकलाई जानकारी गराउन सञ्चारक्षेत्रको भूमिका के हुन सक्छ ? भन्ने विषयमा संवाद भएको थियो ।
युएनडिपीको आर्थिक तथा प्राविधिक सहयोग तथा समितिको सहजीकरणमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका र लक्ष्मीनियाँ गाँउपालिकाको ८ तथा महोत्तरीको महोत्तरी र मनरासिस्वा पालिकाको १० गरी कुल १८ वटा वडाहरूमा सञ्चालित परियोजनाले सो उद्देश्यका साथ काम गरिरहेको परियोजना मधेसकी संयोजक उर्मिला रोक्काले बताइन् ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह तथा वरिष्ठ पत्रकार कमल साहले परियोजना नागरिकको वास्तविक अधिकार र हकलाई उद्देश्य बनाएकाले सफलताको शुभकामना दिए । दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष सुनिल ठाकुर तथा वर्तमान अध्यक्ष डेजी पाण्डेले सबैले आआफ्नो समस्या र चुनौती मात्र देखाएर अब निकास ननिस्कने भन्दै समाधानका लागि अग्रसर हुन आवश्यक रहेको बताए ।
सो अवसरमा पत्रकारहरूको तर्फबाट पत्रकार सुजित झा, अजय कुमार झा, धर्वेन्द्र झा सहितकाले आ आफ्नो धारणा राख्दै मुद्दा र सान्दर्भिक समस्याहरूको जानकारी पत्रकारहरूलाई गराइदिन आग्रह गरेका थिए । सो अवसरमा पत्रकारहरूले खेल्नुपर्ने भूमिकाका साथै तत् क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूले सञ्चारमाध्यमहरू सँगको सहजीकरणका बारेमा पनि विमर्श गरिएको थियो ।
प्रतिक्रिया