इलामका २ सामुदायिक वन ‘रेडपान्डा संरक्षण क्षेत्र’ घोषणा

इलाम । दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) संरक्षणका लागि इलामको २ वटा सामुदायिक वन क्षेत्र ‘सामुदायिक रेडपान्डा संरक्षण क्षेत्र’ घोषणा भएको छ । इलाम नगरपालिकाले वडा–३ पाटेनागीस्थित पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रभित्रको ११६ दशमलव २१ हेक्टर वन क्षेत्रलाई ‘पुवामझुवा सामुदायिक रेडपान्डा संरक्षण क्षेत्र’ घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय भूसंरक्षण दिवसको अवसरमा बिहीबार पाटेनागीमा घोषणा कार्यक्रम आयोजना गरी इलाम नगरप्रमुख केदार थापाले पुवामाई सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वनलाई सामुदायिक रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरेका हुन् । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेनाको रणशार्दूल गण इलामका प्रमुख सेनानी प्रल्हाद घले, नेपाल प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरीक्षक प्रदीप खड्का, डिभिजन वन कार्यालय इलाम प्रमुख दानबहादुर श्रेष्ठसहित सामुदायिक वन, स्थानीय पर्यटन व्यवासायी र पत्रकारहरूको उपस्थितमा प्रमुख थापाले सामुदायिक रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख थापाले डिभिजन वन कार्यालय इलाम र रेडपान्डा नेटवर्कसँगको सहकार्यमा स्थानीय सरकारद्वारा घोषणा गरिएको रेडपान्डा संरक्षण क्षेत्र नेपालकै पहिलो संरक्षण क्षेत्र रहेको दावी गरे । उनले वन ऐन, २०७८ बमोजिम पुवामझुवा सामुदायिक रेडपान्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि, २०८० तर्जुमा गरी रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको बताए ।
दुर्लभ वन्यजन्तु रेडपान्डाको वासस्थान विनाश र विखण्डन जस्ता खतराहरूबाट जोगाउन तथा रेडपान्डाका लागि सुरक्षित वासस्थान प्रदान गर्नका लागि संरक्षण क्षेत्र घोषणा गरिएको नगर प्रमुख थापाले बताए ।

‘रेडपान्डाको वासस्थान विनास र विखण्डनजस्ता खतराबाट जोगाउन निश्चित वन क्षेत्रलाई सामुदायिक रेडपान्डा क्षेत्र घोषणा गरिएको छ’, प्रमुख थापाले भने, ‘यसले रेडपान्डाको संरक्षण गरी पर्यापर्यटन गन्तव्य कायम गर्दै स्थानीय बासिन्दाको जीविकोपार्जनमा समेत टेवा पु¥याउने विश्वास राखिएको छ ।’ उनले आगामी दिनमा इलाम नगरपालिकाले रेडपान्डा संरक्षणका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिवद्धता जनाए ।

डिभिजन वन कार्याल इलामका प्रमुख दानबहादुर श्रेष्ठले रेडपान्डा संरक्षणले जैविक विविधतालाई संरक्षण गर्नुका साथै पर्यापर्यटनसँग जोडेर स्थानीय जनताहरूको जीविकोपार्जन तथा आर्थिक उपार्जनलाई मद्दत गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमका वक्ताहरूले संरक्षण क्षेत्रले रेडपान्डाका अतिरिक्त समग्र पारिस्थितिक प्रणालीको संरक्षण गर्ने कार्यमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

स्थानीय भाषामा हाब्रेको नामले चिनिने गरेको यसको बिरालोजस्तै हुन्छ । तर रङ कालो, रातो र सेतो मिसिएको हुन्छ । पुच्छर ठूलो र लामो हुन्छ । पोथी रेडपान्डाको तौल ३ देखि ४ किलोसम्म हुन्छ भने भाले रेडपान्डाको तौल ६ किलोसम्म हुने रेडपान्डा नेटवर्कले जनाएको छ । समुन्द्री सतहको १ हजार ६०० मिटरदेखि २ हजार ४०० मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ ।

रेडपान्डा इलाम नगरपालिका–३ को पाटेनागीसहित सन्दकपुर गाउँपालिकाको माबु दोभाने, जमुना चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाई माथिल्लो सामुदायिक वनलगायतमा पाइने गरिएको छ । रेडपान्डाको प्रमुख आहारा मालिंगो र भालुचिण्डे हो । माथिल्लो क्षेत्रमा मालिंगो र भालुचिण्डे पाइने भएकाले रेडपाण्डाको रोजाइमा त्यही क्षेत्र परेको छ । रेडपाण्डा संरक्षणका इलामको सन्दकपुर गाउँलिकामा रेडपान्डासम्बन्धी पढाइ नै हुँदै आएको छ । स्थानीय पाठ्यक्रम नै बनाएर सन्दकपुरका सामुदायिक र संस्थागत विद्यालयमा रेडपान्डा पढाइ थालिएको हो ।

प्रतिक्रिया