दलितमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सिडिओलाई ज्ञापनपत्र

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरका पृतम पासवानको परिवारमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मेघबहादुर मंग्रातीलाई ज्ञापनपत्र बुझाइएको छ । दलित अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरूले बुधबार संयुक्त रूपमा प्रजिअ मंग्रातीमार्फत गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा विभिन्न राजनीतिक आवरणमा अपराधिमाथि कानुनी कारबाहीका लागि प्रहरीले तदारुकता नदेखिएकोले घटनामा संलग्न जोकोहीलाई पनि अविलम्ब पक्राउ गरी कारबाहीको लागि जोडदार माग गरिएको छ । ‘सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर टोलमा २०८१ असार १ गते दिउँसो २ बजेको समयमा पृतम पासवानका परिवारमाथि पूर्वक्षेत्रपाल हरिसुदन यादवलगायतले घरेलु हतियारद्वारा आक्रमण गरे’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाका ७ जना आरोपीविरुद्ध असार ११ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । तर अहिलेसम्म १ जनालाई पनि पक्राउ गरिएको छैन ।’

घटनामा संलग्न व्यक्तिहरू विभिन्न राजनीतिक दल आवद्ध रहेको कारण खुलेयाम हिँडडुल गर्दासमेत प्रहरीले आरोपीहरूलाई पक्राउ गर्न डराइरहेको ज्ञापनपत्रमा आरोप लगाएको छ । ‘घटनामा संलग्न व्यक्तिहरू विभिन्न राजनीतिक दल आबद्ध रहेका कारण प्रहरीले आरोपीलाई पक्राउ गर्न डराइरहेको छ । जबकी आरोपितहरू गाउँमै खुलेयाम हिँडिरहेका छन् र उल्टै मुद्दा दर्ता गरेको भन्दै पीडित पक्षलाई धम्क्याइरहेका छन्’, दलित संघसंस्थाद्वारा सिडिओलाई बुझाएको संयुक्त पत्रमा भनिएको, ‘यस्तो अवस्थाले पीडितहरू एकातिर पीडकहरूकै धम्की सहन बाध्य छन् भने अर्कोतिर मजदुरी गर्ने सिजनमा परिवारमाथि नै सांघातिक हमला भएकाले खान÷लाउनै नपाउने अवस्थामा पुगेका छन् ।’ पासवान परिवारलाई उठिबास लगाउने नियतबस घटना घटाएको आरोप उनीहरूले सिडिओलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया