अनलाइन ठगी गर्ने ९ भारतीय नागरिक पक्राउ

हेटौँडा । स्वास्थ्य सेवा प्रदान गर्ने नाममा अनलाइनमार्फत ठगी धन्दा चलाइरहेको भारतीय नागरिकको एक गिरोहलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ पारिजातपथमा ‘मेडी असिस्ट’ नामको कम्पनीका नाममा कारोबार गरिरहेका ९ भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार गिरोहका ३ सदस्य भने फरार छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार विशेष सूचनाका आधारमा उनीहरूलाई साउन २१ गते साँझ नियन्त्रणमा लिइएको थियो । पक्राउपर्नेहरूमा भारतीय नागरिकहरू २८ वर्षीय नवनीत कुमार, २७ वर्षीय शाहरूख खान, २९ वर्षीय कुन्दन कुमार, २६ वर्षीय आशिष कब्डौला, ३४ वर्षीय विशाल कक्कड, ३८ वर्षीय लोकेशकुमार दुवे, २९ वर्षीय विकासकुमार सिंह, २८ वर्षीय अरुण कुमार र ४० वर्षीय कुनाल शर्मा रहेका छन् । गिरोहका अन्य ३ सदस्यहरू द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश फरार छन् ।

गत फागुनमा हेटौँडा उपमहानगरपालिकामा परामर्श सेवा प्रदान गर्ने भनी ‘मेडी असिस्ट’ नामको कम्पनी दर्ता गरेका उनीहरूले दर्ता अनुसारका कुनै पनि काम नगरेको प्रहरी अनुसन्धानमा खुलेको छ । भारतीय नागरिक द्रबिन कुमार सिंहको नाममा कम्पनी दर्ता गरेका उनीहरूले हेटौँडा–४ पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरको फ्ल्याट भाडामा लिएर रातीको समयमा काम गर्ने गरेका थिए ।

नेपालमा स्वास्थ्य परामर्श सेवा दिने भनिए पनि उनीहरूले भारतको राँचीमा मुख्य सर्भर रहेको ‘क्विक कल क्लाइन्ट सफ्टवेयर’ मार्फत काम गर्ने गरेको प्रहरीले जनाएको छ । सफ्टवेयरमार्फत लक्षित व्यक्ति पहिचान गरी उनीहरूको सम्पूर्ण विवरण हेड अफिसमा ट्रान्सफर गर्ने गरिएको थियो । कम्पनीबाट हुने गरेको कुनै पनि कामको डाटा नेपालमा नराखी राँचीस्थित हेड अफिस ट्रान्सफर गर्ने गरेका उनीहरूको मुख्य लक्ष्य नेपालीसहित विभिन्न देशका इन्टरनेट प्रयोगकर्ता हुने गरेका थिए ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको ७ थान ल्यापटप, राउटर ३ थान, १३ वटा मोबाइल फोनका साथै अन्य सामग्री बरामद गरेको छ । उनीहरूलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया