फतुवा विजयपुरको शिक्षा क्षेत्र भताभुंग, ६ महिनामै फेरिए ४ शिक्षा प्रमुख

रौतहट । जिल्लाको फतुवा विजयपुर नगरपालिकाको शिक्षा क्षेत्र भताभुंग भइरहेको छ । शिक्षा शाखाको नेतृत्व बारम्बर परिवर्तन भइरहँदा त्यहाँको शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव बढिरहेको छ । गत ६ महिनामा फतुवा विजयपुर नगरपालिकामा–४ जनालाई शिक्षा शाखा प्रमुख बनाइएको छ । एकपछि अर्को शिक्षा शाखा प्रमुख बनाउने चलखेलमा नगरपालिका र शिक्षा तथा समन्वय इकाई लागेपछि नगरको शिक्षाको बेहाल भएको हो ।


नगरपालिकामा रहेका विद्यालयहरूको रेखदेख, पठनपाठन तथा शैक्षिक गुणस्तर सुधार सबै पक्षमा राजनीति पसिसकेको छ । निर्वाचित नगरप्रमुख निलम्बित भइसकेको र कार्यवाहक नगरप्रमुखले चलाउन नसकेको नगरपालिकाको रूपमा चिनिएको फतुवा विजयपुरमा सधै विवाद हुने गरेको छ ।


नपाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधान कहिल्यै कार्यालय नजाने र जो निकट हुन खोज्यो उसैलाई कार्यवाहक नगरप्रमुख अम्बेया खातुनसित सल्लाह गरी शिक्षा शाखा प्रमुखको जिम्मेवारीको लागि शिक्षा तथा समन्वय इकाइ रौतहटलाई सिफारिस गर्ने गरिएको छ ।


गत साउन २० मा शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले प्राविधिक सहायक राजेशकुमार यादवलाई फतुवा विजयपुर नगरपालिकाको शिक्षा शाखा प्रमुखको रूपमा कामकाजमा खटाएको छ । यादवलाई पुनः शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएपछि व्यापक विवाद सुरु भएको छ ।


फतुवा विजयपुरमा शिक्षा शाखा प्रमुखको विषयमा व्यापक विवाद चुलिएपछि शिक्षा विकास तथा समन्वय इकाइ रौतहट प्रमुख राम विनयकुमार सिंहले रौतहटको ३ ओटा पालिकामा मात्र नियमानुसार शिक्षा शाखा प्रमुख भएको र बाँकी पालिकामा अनियमित अधिकारले शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको स्वीकार गरेका छन् ।


रौतहटको गुजरा, चन्द्रपुर र गरुडा नगरपालिकाबाहेक जिल्लाका १५ पालिकामा नियमले अयोग्य व्यक्ति शिक्षा शाखा प्रमुखको रूपमा रहेको सिंहको भनाइ छ ।


गुजरा, चन्द्रपुर र गरुडा नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहमा शिक्षक वा अन्यले अनियमित तरिकाले शिक्षा शाखा चलाइरहेको देखिएको छ । सिंहका अनुसार शिक्षा शाखा प्रमुख हुनका लागि शिक्षाशास्त्रमा स्नातकोत्तर गरेको निजामती सेवाका कर्मचारी हुनु पर्ने प्रावधान रहेको छ ।


फतुवा विजयपुरमा कानुनले अयोग्य व्यक्तिलाई बारम्बार शिक्षा शाखा प्रमुख बनाइँदा शिक्षा क्षेत्रको बेहाल भएको छ । कानुनले नमिले पनि नगरको कार्यवाहक प्रमुख खातुन, प्रमुख प्रशासकीय अधिकृत प्रधान र इकाइ प्रमुख सिंहको मिलोमतोमा ६ महिनामै ४ शिक्षा शाखा प्रमुख फेरिएका छन् ।


नगरपालिकामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयको पाठ्यपुस्तक, परीक्षा तथा विद्यालय दिवा खाजाको रकम निकासा हुँदा ठुलो चलखेल हुने गरेकोले शिक्षा शाखामा अनियमित तरिकाले आफ्नो मानिस राख्न तँछाडमछाड हुने गरेको छ ।
६ महिनामै ४ शाखा प्रमुख फेरिएपछि शिक्षा क्षेत्रका स्थानीयवासी आक्रोशित भएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया