साक्षर प्रदेश बनाउने प्रयासमा मधेस सरकार

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसमा शिक्षाको वञ्चितीकरण र निरक्षरताको संख्या गम्भीर समस्या बनेकाले गरिबी र पछ्यौटेपनबाट प्रदेशवासीलाई मुक्ति दिलाउन साक्षरताको स्थितिमा तीव्र सुधार ल्याउने अपेक्षाअनुसार विश्वविद्यालयहरूसँग साक्षरतासम्बन्धी कार्यक्रमका लागि साझेदारी गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री सिंहले प्रदेशका निरक्षर जनतालाई साक्षर तुल्याउन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक परिचालन गर्ने सम्भावना र स्वरूपका बारेमा विश्वविद्यालय पदाधिकारीहरूसँग प्रारम्भिक छलफल आरम्भ गरेको सुनाए । उनले भने, ‘छिटोभन्दा छिटो प्रतिफल आउने गरी साक्षरता अभियानलाई तीव्र तथा सघन बनाउन ठूलो जनशक्तिको आवश्यकता हुन्छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका छात्रछात्रालाई प्रशिक्षित तुल्याएर यसलाई सम्भव बनाउन सकिन्छ भन्ने कोणबाट कुराकानी भइरहेको छ ।’

मुख्यमन्त्री सिंहले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमर यादवलगायतका विश्विविद्यालयका अन्य पदाधिकारीसँग सो विषयमा कुराकानीसमेत गरेका छन् । कुराकानीमा प्रदेशका ८ वटै जिल्लामा विश्वविद्यालयका कलेज विस्तार गर्ने विषयसँगै साक्षरता अभियानमा विद्यार्थी स्वयंसेवक परिचालनबारे चर्चा भएको छ । विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले साक्षरता अभियानमा विश्विद्यालयका विद्यार्थीलाई दसैँ बिदा वा पुस माघको जाडो बिदामा उपयोग गर्न सकिने विषयमा छलफल भएको बताए । उपकुलपति यादवले सबै तहका विद्यार्थीबाट साक्षर प्रदेश बनाउने अभियानमा योगदान लिन सकिने उल्लेख गरे । पाठ्यक्रममै राखेर वा शिक्षासम्बद्ध अन्य संस्थासँग समन्वय गरी प्रमाणपत्रसमेत दिनेगरी विश्विद्यालयका विद्यार्थीको योगदान साक्षरतालगायत शैक्षिक अभियानका लागि सुनिश्चित गर्न सकिने पनि उनले बताए । उपकुलपति यादवले साक्षरता अभियानमा सहभागिताले समुदायसँग विद्यार्थीको निकटता र अनुभव बढाउने टिप्पणी गरे ।

मुख्यमन्त्री सिंहले साक्षरता अभियानमा सजिलोगरी अक्षर र अर्थ चिन्नेबुझ्ने समझ विकसित गर्ने सफ्टवेयर प्रयोग गरिने पनि उल्लेख गरे । विश्वविद्यालयका स्वयंसेवक विद्यार्थीहरूले निरक्षरलाई साक्षर बनाउन प्रयोग गर्ने सफ्टवेयर लाभग्राही समेतलाई उपलब्ध गराउनेगरी कार्ययोजना बनाइने पनि उल्लेख गरे । पछिल्लोे जनगणनाअनुसार मधेस प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम साक्षरता दर ६३ दशमलव ५ प्रतिशत छ । तथ्यांकअनसार देशमैै सबैभन्दा कम साक्षरता भएका मधेस प्रदेशकै ४ वटा जिल्लाहरू रौतहट, महोत्तरी, सर्लाही र बारा छन् ।

नेपालमा ५ वर्षमाथिका निरक्षर जनताको संख्या ६३ दशमलव ५ प्रतिशत छ । जसमा महिलाको हिस्सा ठूलो छ । मधेस प्रदेशका ५ वर्षमाथिका महिलातर्फ २३ लाख ५९ हजार ७३१ जनसंख्या मध्ये १७ लाख ३७ हजार ४६९ निरक्षर छन भने ५ वर्षमाथिका २२ लाख १८ हजार ७०९ पुरुषको जनसंख्या मध्ये ३ लाख ३ हजार ६४ निरक्षर छन् ।

सेवाग्राहीको काम आजको आजै गर्नुस्

मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले मन्त्रालयका कर्मचारीहरूले काममा साह्रै लापरबाही गरेको टिप्पणी गरेका छन् ।
अर्थ मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् । मन्त्रालयका कर्मचारीहरूमा पछिल्लो समय काम गर्ने जाँगर नदेखिएको भन्दै लापरबाही बढेको उनले गुनासो गरे ।

गोष्ठीमा मुख्यमन्त्री सिंहले सचिवदेखि लिएर अन्य तहका कर्मचारीहरूको ढिलासुस्तीका कारण प्रदेश सरकारको कामको ‘आउटपुट’ नदेखिएको भन्दै आक्रोश पोखे ।
कर्मचारीहरूबाट जनताको काम मात्र नभई मन्त्रालयका वेबसाइटहरूसमेत अपडेटजस्ता एकदम सामान्य काम नभएको उनले बताए ।

उनले भने, ‘कतिसम्म कर्मचारीहरूमा लापरबाही छ, नयाँ सरकार आएको करिब २ महिना पुग्न लागेको छ । तर अहिलेसम्म कुनै मन्त्रालयको वेबसाइट अपडेट छैनन् । १०÷११ वटा मन्त्रालयको वेबसाइटहरू अझ अपडेट नै भएका छैनन् । यो कतिसम्म हेलचेक्र्याँइ हो’, उनले भने, ‘सेवाग्राहीको आज हुने काम आजै गर्नुस्, भोलि या पर्सी हुन्छ भने ढिलाइ नगर्नुस् । बरु जनताको समय छिटो छरितो के गर्नुपर्छ भन्नुस सरकारले त्यो काम गर्नेछ । तर आज हुने काम भोलि वा पर्सी नगर्नुस् । किनकि यसले सरकारको आउटपुट देखिँदैन ।’

सरकार र राजनीतिकतर्फ हुने सबै सहयोग आफ्नो नेतृत्वको सरकार गर्न तयार रहेको उनले प्रतिबद्धता जनाए । अर्थमन्त्री सुनिलकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेस सरकार सबै मन्त्रालय कर्मचारी, आयोगका प्रतिनिधिहरू तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया