नारायणगढमा नियन्त्रणमा लिएको बाघलाई निकुञ्जमा छाडियो

चितवन । नारायणगढको नारायणी नदी किनारबाट नियन्त्रणमा लिएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो रहेको छ । एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको हो । सूचना अधिकारी तिवारीले भने, ‘स्वास्थ्य, उमेर र मानिसलाई गरेको हानिको मूल्यांकन गरेर जंगलमा छाडिएको हो ।’

उनका अनुसार बाघ बुढो भएर सिकार गर्न नसक्ने भएमा नरभक्षी हुन सक्छ । बाघले बाटो बिराएर नारायणी किनारमा पुगेको र मानिससँग जम्काभेट हुँदा आक्रमण गरेको उनको भनाइ छ ।

रातको समयमा बाघ सक्रिय हुने र जंगल फर्किन ढिलो भएर मानिससँग जम्काभेट भएको हुन सक्ने अनुमान गरिएको छ । नियन्त्रणमा लिएको बाघले मानिसलाई आक्रमण गरेर घाइते बनाएपछि नजिकैको नरकट घारीमा लुकेको थियो । आइतबार बिहान घटना भएकोमा साँझ बाघलाई नियन्त्रणमा लिएर सौराहा लगिएको थियो ।

बाघ अन्दाजी ५–६ वर्षको भाले हो । उद्धार गरिएको बाघ बुढो भए उसले प्राकृतिक रूपमा सिकार गर्न नसक्ने आधारमा खोरमै राख्ने गरिन्छ । निकुञ्ज क्षेत्रमा खोरमा अहिले ६ वटा बाघ रहेका छन् । जसमध्ये दुई वटा देवनगरमा, तीनवटा कसरा र एउटा सौराहामा छन् ।– रासस

प्रतिक्रिया