औरहीका कर्मचारी आन्दोलित

सिरहा । सिरहाको औरही गाउँपालिकामा कार्यपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् । गाउँपालिकाका कर्मचारीहरूले सोमबार पालिका अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरू अध्यक्ष यादवलाई ज्ञापन–पत्र बुझाउँदै अधिकृत झाको सरुवा गर्न माग गरेका छन् । अधिकृत झाले मनपरी ढंगले कर्मचारीलाई चलाएको, सुत्केरी बिदा लिएका कर्मचारीको हाजिरी काटेको र कर्मचारीको दुव्र्यवहार गर्ने गरेको भन्दै कर्मचारीहरूले उनको सरुवाको माग गरेका छन् । स्रोतका अनुसार गत आर्थिक वर्षको विकास निर्माणको भुक्तानी गर्न उठेको कमिसन बाँडफाँडमा अधिकृत झा र गाउँपालिका अध्यक्ष यादवबीच विवाद भएको थियो ।

विवादकै कारण अधिकृत झाले पालिका अध्यक्ष यादवलाई अहिले टेर्न छाडेका छन् । सोही कारण अधिकृत झालाई हटाउन सहज होस् भनेर अधिकृत झाविरुद्ध कर्मचारीबाट आन्दोलन गर्न लगाएका छन् । आर्थिक मसान्तको अन्तिमदेखि नै पालिका अध्यक्ष, प्रशासकीय अधिकृतबीच खटपट भए पनि अध्यक्षले अधिकृत झालाई फकाएर सबै कागजातमा हस्ताक्षर गराएर अन्त्यमा उनीविरुद्ध नै आन्दोलन गराएको स्रोतको दाबी छ ।

गाउँपालिका अध्यक्ष यादव लामो समय काठमाडौँमा बसेर अधिकृत झालाई ल्याएका थिए । अहिले उही अधिकृत झा घाँडो बनेपछि पालिका अध्यक्ष यादव तनावमा रहेको स्रोतको भनाइ छ ।

गाउँपालिकामा अख्तियारको छापा

सिरहाको औरही गाउँपालिका भ्रष्टाचारको अखाडा बन्दै गएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ ।
औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले कर्मचारीसँग सेटिङ गरेर व्यापक भ्रष्टाचार गरेको स्थानीयको आरोप छ । सो विषयमा उजुरी परेपछि अख्तियार बर्दिवासको टोली निगरानी बढाएको बुझिएको छ ।

स्रोतका अनुसार अख्तियार टोलीले उजुरी सम्बन्धमा छानबिन गर्न आवश्यक कागजात मागेको थियो । तर, कागजात पठाउन अटेर गरेपछि अख्तियारका कर्मचारी आफैँ पुगेका छन् ।
सिरहाका स्थानीय तहमध्ये सबैभन्दा बढी औरही गाउँपालिकाकै अनियमिततासम्बन्धी उजुरी अख्तियारमा परेको छ । आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा औरही गाउँपालिकाले गरेको कैयौँ शंकास्पद कामकारबाही र अनियमितताविरुद्ध अख्तियारमा उजुरीको चाङ नै लागेका छन् । अध्यक्ष शिवजी यादवविरुद्ध छानबिन समिति गठन भएको छ ।

जसपा नेपालद्वारा छानबिन समिति गठन

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित अध्यक्ष यादवविरुद्ध आफ्नै पार्टीले भ्रष्टाचार, अनियमितता र मनपरि गरेको भन्दै पालिका स्तरमा ७ सदस्य छनबिन समिति गठन गरेका छन् । निर्वाचित भएदेखि एकलौटी र मनपरि गरेको, पालिकामा भ्रष्टाचार मौलाएको, खुलमखुल्ला कमिसनको लेनदेन भइरहेको, कर्मचारीसँग विभेद गर्ने गरेको लगायतका विषयमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई समय सीमा दिएको छ । छनबिन समितिको प्रतिवेदनपश्चात आवश्यक कारबाही गर्ने समितिको तयारी छ ।

जसपा नेता एवं औरही गाउँपालिका–३ का वडा सदस्य मोहित नारायण यादवको नेतृत्वमा गठित समितिले छनबिन सुरु गरेका छन् । गाउँपालिका अध्यक्ष शिवजी यादव आफैँ पार्टीको गाउँपालिका कमिटीको अध्यक्ष पनि हुन् । पार्टीले छानबिन सुरु गरेपछि अध्यक्ष यादव आफू चोखो देखाउन र सबै घटनाको कारण प्रमुख प्रशासकीय अधिकृतमाथि थुपार्न केही कर्मचारीलाई प्रयोग गरेर आन्दोलनको नाटक मञ्चन गरिरहेका छन् । जसमा केही कर्मचारीहरू पनि मतियारको रूपमा प्रयोग भइरहेका छन् ।

प्रतिक्रिया