दण्डीबमले गरे शिव आराधना

महोत्तरी । मुलुककै ‘बाबाधाम’ र ‘मधेसको कैलाश’ पनि भनिने महोत्तरीको टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा आइतबार दण्डीबमले दर्शन, पूजाआराधना गर्दै जल, गाईको दूध र बेलपत्र चढाएका छन् । यात्राको पाँचाँै दिन आइतबार बिहान टुटेश्वरधाम पुगेर दण्डीबमले शिव दर्शन र पूजाआराधना गरेका हुन् । पस्रँदै गरिने यो यात्रा दण्डीबमले १८ किमी दुरीको माण्डवीगंगा (मडहा), वरुणमती (बेलगाछी) र स्वर्णमती (सोनी) नदीको त्रिवेणी संगमबाट सुरु गरेका थिए ।

इष्टदेव रिझाउन श्रद्धालु भक्तजनले पस्रँदै कठोर यात्रा गर्ने चलन छ । त्रिवेणीमा जल भरेर यात्रा संकल्प गरेपछि भक्तले यात्रा थालेका हुन् । यो यात्रामा एकपटक पस्रँदा (लम्पसार पर्दा) हातले जति दुरीमा रेखा खिच्न भ्याइन्छ अर्कोपटक त्यही रेखामा लम्पसार परेर अघि बढ्नुपर्ने मान्यता छ । बाटोमा नित्यक्रिया, विश्राम वा खानपिन गर्नुपर्दा यी काम सकेर फेरि पस्रेर लगाइएको चिनोबाट अघिल्लो यात्रा सुरु गरिन्छ । दण्डीबमले बाटोमा ४ रात बिताएर पाँचौँ दिन औँसी तिथि पारेर बिहान सभाप्रहरभित्रै शिव दर्शन गरेका हुन् । शिवदर्शन प्रयोजनले यसरी पस्रेर गरिने यात्रालाई ‘दण्डी’ र यात्रीलाई ‘दण्डीबम’ भनिन्छ ।

टुटेश्वरधाममा दण्डीबमको यात्रा थालिएको ३४ वर्ष भएको छ । २०४८ साउन १७ गते गौशाला–४ का वासुदेव महतो र ठगा साहले यो यात्रा थालेका थिए । ठगा साहले केही वर्ष गरेर यात्रा बिराम गरे पनि महतोले भने अझै जारी राखेका छन् । यो भक्ति र समर्पणको यात्राले सबैकुरा ईश्वरमा अर्पण गर्न प्रेरित गर्छ । शरीरलाई कष्ट हुने भए पनि यात्री यो आनन्ददायक रहेको भक्तजन बताउँछन् ।

छलकपट, ईष्र्याद्वेष र लालच त्यागेर प्राणीजगतलाई आफ्नो सामथ्र्यले भ्याएको सेवा गर्न प्रेरित गर्ने यो यात्रा अलौकिक भएको प्रथम यात्री महतोको भनाइ छ । पहिलोपटक २ जनाले थालेको यो यात्रामा यसपालि ३० जना सहभागी भएका छन् । दण्डीबमले सहभागी बढाउँदै लैजान यसको प्रचारप्रसार र व्यवस्थापनका लागि दण्डी यात्रा सहयोग समिति नै बनाएका छन् । यस्ता यात्री कतिपय भाकल पूरा गर्न र कतिपय भक्ति तथा आनन्दको अभिष्ठ राखेर सहभागी भएका पाइएको छ । साउनमा गरिने यो अलौकिक यात्रामा दाताहरूले आवास, भोजन, पानी, सर्वत र अन्य आवश्यक सेवा जुटाउँदै आएका छन् ।

टुटेश्वरनाथसँग जोडिएका रामायण र महाभारतकालीन जनश्रुति छन् । अघि रामायणकालमा राजा जनकका भाइ कुशध्वजकी छोरी माण्डवी यस क्षेत्रमा विहार गर्न सखीसहेलीका साथ आउने गरेकी यहाँका पाका मैथिल बताउँछन् । यसैगरी महाभारतकालीन द्वापरयुगमा वनबासका बेला अर्जुनले शिवजीको तपस्या गरी यसै ठाउँमा पाशुपतास्त्र प्राप्त गरी दिव्यास्त्रको ज्ञान लिन स्वर्ग गएका टुटेश्वरका ७० वर्षीय मोतिलाल गौतम बताउँछन् । यद्यपि पौराणिक कथा जोडिए पनि यो ठाउँको सोधखोज भने निकै पछि २००२ सालदेखि भएको पाइएको छ ।

२००२ सालमा डिठ्ठा गौरीनारायण गिरीले वन फँडानी गरी बस्ती बसाउने क्रममा यहाँ अति प्राचीन शिवलिंग, पत्थर कँुदिएर बनेको बसाहासहित पुरातात्विक महत्वका सामग्री फेला परेको बताइएको छ । शिवलिंग, बसाहा र अन्य पुरातात्विक महत्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरूले महाभारतकालीन भनेका छन् ।

पछिल्लो समयमा टुटेश्वरको विकासका लागि केन्द्र र मधेस प्रदेश सरकारले पहलकदमी लिएका छन् । यसपालि चालु आर्थिक वर्षमा केन्द्र र प्रदेश सरकारले १ करोड बढी रकम विनियोजन गरेका छन् । विनियोजित यो रकम यहाँको विकासका लागि विस्तृत परियोजना प्रस्ताव बनाउन र प्रस्तावअनुसारका पूर्वाधार निर्माणमा खर्च हुने मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव राजीव पोखरेल बताउँछन् ।

प्रतिक्रिया