जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विभिन्न सूचकको निरीक्षण तथा विश्लेषण गरी समस्याग्रस्त सहकारीको अवस्था पहिचान गर्न र तिनका आधारमा समाधानका उपाय खोज्न सम्बद्ध सरकारी निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ स्थापना दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा मुख्यमन्त्री सिंहले सहकारी क्षेत्रलाई मर्यादित, व्यावसायिक, समावेशी एवं सहभागितामूलक बनाएर नियमन, सुशासन र दायित्वबोधका आधारमा अगाडि बढाउन सकिए आर्थिक समानता र सामाजिक न्यायको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए ।
उनले पछिल्ला दिनमा केही संकटग्रस्त सहकारीका कारण सहकारी भन्नेबित्तिकै झसंग हुने अवस्था आएको औँल्याउँदै सुशासन र स्वनियमनमार्फत सहकारी मूल्य, मान्यता र आदर्श प्रवद्र्धन गर्न सकिए यस क्षेत्रको विश्वसनीयता र प्रभावकारिता वृद्धि हुने उल्लेख गरे ।
सार्वजनिक निकाय उत्पादन तथा व्यवसाय क्षेत्रमा प्रत्यक्ष रूपमा सहभागी नहुने र निजी क्षेत्र नाफामूलक क्षेत्रमा बढीजसो आकर्षित हुने हुँदा उत्पादन तथा व्यावसायिक गतिविधिमार्फत राष्ट्रिय अर्थतन्त्रमा सहकारीले पु¥याउँदैआएको योगदानको प्रशंसा गरे ।
उनले भने, ‘राष्ट्रको तीव्र विकासमा सहकारीले राम्रो भूमिका निर्वाह गरिरहेको छ । राज्यसँग समन्वय गर्ने सहकारीहरूले विभिन्न देशमा राम्रा काम गरेका छन् ।’
मुख्यमन्त्री सिंहले सञ्चालक समिति र सदस्यहरूबीच तालमेल नहुँदा किसानलगायत सर्वसाधारणको निक्षेपदेखि अन्य विषयमा समस्या देखिएको भए पनि ती कुरालाई समाधान गर्न सम्बद्ध निकायहरूले प्रतिबद्धता व्यक्त गरिरहेको प्रस्ट्याए ।
ऋण चुक्ता गरिसके पनि धित्तो राखिएका जग्गा फुकुवा नभएको गुनासा आइरहेको भन्दै उनले त्यस विषयमा आफूले आधिकारिक व्यक्तिहरूसँग कुरा गरेको र थर्ड पार्टी कोल्याट्रलसँग जोडिएका समस्या अन्त्य हुने आश्वासन पाएको जानकारी गराए । कार्यक्रममा सहकारी सदस्यहरूलाई सम्मान गरिएको छ ।
सरोकारवालासँग छलफल
मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको उद्योग तथा व्यवसायमा देखिएको समस्याबारे सरोकारवालासँग विमर्श गरेका छन् । जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा प्रदेशका उद्योगीहरुसँग मधेश भवनमा बसेर मुख्यमन्त्री सिंहले समस्या समाधानका लागि छलफल गरेका हुन् ।
छलफलमा जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्वय ई. प्रकाश चन्द्र साह र निर्मल चौधरी, वर्तमान अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, महासचिव मनोज साह, कोषाध्यक्ष परमेश्वर साह लगायत पदाधिकारीहरु सहभागी थिए ।
वरिष्ठ उपाध्यक्ष मनिष रमणले मधेश प्रदेशको उद्योग र व्यवसायमा सबैभन्दा ठूलो समस्या विद्युत आपुर्तीमा अनियमितता रहेको बताए । ‘मधेश प्रदेशको उद्योगमा समस्याको कुरा गर्दा सबैभन्दा ठूलो समस्या विद्युतको छ । अहिले हामी यो बैठकमै बसिरहेको बेला कति पटक विद्युत आउने जाने भइरहेको छ । खासगरी साना उद्योगीहरु विद्युतको समस्याले निकै तनाव झेल्नुपर्ने अवस्था छ’ वरिष्ठ उपाध्यक्ष साहले भने ।
साहले विद्युतको समस्याबारे प्रमुख जिल्ला अधिकारीमार्फत विद्युत कार्यालयका प्रमुखसँग पनि कुरा गरेका छन् । तत्काल यो समस्या समाधानका लागि चौतर्फी पहलमा लागेको र अबको पाँदेखि सातदिन भित्र समस्या समाधान हुने आश्वासन आएको उनले बताए ।
प्रतिक्रिया