सुत्केरी महिलालाई स्याहार खर्च स्वरूप ५ हजार वितरण

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१४ मा सुत्केरी महिलाहरूलाई पोषण भत्ता वितरण गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको एक मात्र महिला वडा अध्यक्ष चयन गुरुङले आफ्नो वडाका सुत्केरी महिलाको लागि पोषण भत्ता वितरण गरेकी हुन् । उनले सुत्केरी महिलाको स्याहार खर्च स्वरूप वडाबाटै रकम विनियोजन गरी वितरण गरेको बताइन् ।

विषेशगरी वडामा दलित, विपन्न र अल्पसंख्यक लगायतका जाति÷जनजातिहरूमा आर्थिक अवस्था विपन्न भएका कारण सुत्केरी महिलाहरूको स्याहार र पोषण नपुगेको भन्दै वडा कार्यालयले सुत्केरी संरक्षण कार्यक्रम सञ्चालन गरेको हो । जितपुरसिमरा उपमहानगरपालिका–१४ को कार्यालयले सुत्केरी पोषण रकम वितरणका लागि आवेदन नै माग गरेको थियो ।

वडामा आवेदन दिएका ७० जना सुत्केरी महिलाहरूले नगद ५ हजारका पोषण भत्ता रकम प्राप्त गरेका छन् । यो रकम पाएसँगै वडाका सुत्केरी महिलाहरूले न्यूनतम सुत्केरी अवस्थामा आफ्नो र सन्तानका लागि पोषणयुक्त खानेकुराको बन्दोबस्त गर्न सक्ने भएपछि सुत्केरी महिलाहरू खुसी भएका हुन् । शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जितपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टा वडा कार्यालयले ७० जना सुत्केरी महिलालाई स्याहार खर्च स्वरूप प्रति महिला ५ हजार पोषण भत्ता वितरण गरिएको वडासचिव रन्जु अधिकारीले बताइन् ।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि महिला र बालबालिका कार्यक्रमअन्तर्गत कार्यक्रम ल्याएको वडाध्यक्ष गुरुङले बताइन् । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको वडाध्यक्ष चयन गुरुङले बताइन् । जीतपुरसिमरामा रहेका २४ वडाहरूको एक मात्र महिला उम्मेद्वार मगरले आफ्ना वडामा विभिन्न खाले समाज र नागरिक लक्षित कार्यक्रम सञ्चालन गरिरहेकी छन् ।

प्रतिक्रिया