राजविराज । जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका अनुसार अघिल्लो वर्षको तुलनामा सप्तरीमा गत वर्ष दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म जिल्लामा ६३८ दुर्घटना हुँदा ५६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सप्तरीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक मेदनीप्रसाद साहले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा दुर्घटनाबाट ११४ गम्भीर र ९३७ जना सामान्य घाइते भएका छन् ।
‘गत वर्ष सबैभन्दा बढी चैत्रमा ९ तथा असोज र पुस १–१ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ’ उनले भने, ‘हामीले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि प्रत्येक महिना डेढ सय जनचेतनामुलक कार्यक्रमहरू गरेका थियौँ र कुल १ हजार ८३७ वटा कार्यक्रम गर्दा १ लाख ७९ हजार ३३९ जनालाई सहभागी गराएका थियौँ ।’
मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्र गतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लंघन, बढ्दो सवारी चापका कारण दुर्घटना भएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक साहको भनाइ छ ।
जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ६६८ दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको थियो । उक्त अवधिमा दुर्घटनाबाट २०१ गम्भीर र ९९६ जना सामान्य घाइते भएका थिए । गत वर्ष ट्राफिक नियम उल्लंघन गर्ने २३ हजार ३४६ जना सवारी चालकलाई कारबाही गरिएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक साहका अनुसार सबैभन्दा बढी साउनमा ३ हजार ४६८ र सबैभन्दा कम मंसिर ९१४ जना चालक कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरूसँग १ करोड ७७ लाख ९२ हजार ६०० रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।
प्रतिक्रिया