सडक अवरोध हटाउन द्रुतप्रतिकार्य टोली गठन

हेटौँडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश भित्ररहेका सडक सञ्जालमा हुने अवरोध तत्काल हटाउन द्रुत प्रतिकार्य टोली (क्युआरटी) गठन गरेको छ । बुधबार मन्त्रालयमा टोलीको औपचारिक कार्य प्रारम्भ भएको घोषणा गर्दै भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले टोलीलाई जिम्मेवारी प्रदान गरेका छन् ।

यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा रहेको टोलीले प्रादेशिक सडकहरूमा प्राकृतिक कारणबाट भएका अवरोधको तत्काल पहिचान गरी त्यसबारे सूचना सम्प्रेषण गर्ने र वैकल्पिक मार्गहरूको पहिचान गरी सोबारे सडक प्रयोगकर्तालाई जानकारी गराउनेछ । टोलीका अन्य सदस्यहरूमा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी, मन्त्रालयका विपद् फोकल पर्सन ज्यानेन्द्रप्रसाद पुन, निर्देशनालयका अधिकृत हरिप्रसाद ओझा र जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख रहने मन्त्रालयका सचिव अमृत श्रेष्ठले बताए ।

सचिव श्रेष्ठका अनुसार टोलीलाई अवरुद्ध सडक यथाशीघ्र खुलाउनका लागि अन्तर निकाय समन्वय गर्ने, स्रोतको व्यवस्थापन गर्ने लगायतका कार्यक्षेत्रगत सर्तहरू तोकिएको छ । टोलीले अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरूको पहिचान गर्ने कार्य निरन्तर गरिनुका साथै सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रूपमा अवरुद्ध सडकहरू यथाशीघ्र छिटो सुचारु गर्ने अन्तर निकायसँग समन्वय गर्ने, कार्यालयगत रूपमा आकस्मिक मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने र प्रचलित कानुनको अधिनमा रहेर टोली स्वयंबाट निर्धारित अन्य कार्यक्षेत्रगत सर्तहरूको कार्यान्वयन गर्ने र गर्न लगाउने रहेको सचिव श्रेष्ठले बताए ।

क्युआरटीको कार्य प्रारम्भ समारोहमा टोलीलाई निर्देशन दिँदै मन्त्री मास्केले आमनागरिकले सडक प्रयोग गर्दैगर्दा सडक अवरोधका कारण अनाहकमा दुःख नपाउन् भन्नका लागि पनि टोलीले सक्रियतापूर्वक काम गर्नुपर्ने बताए । विशेषगरी बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपको समयमा जनतालाई सही सूचना प्रवाह गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

जिम्मेवारी लिँदै निर्देशानालयका निर्देशक पोखरेलले परिणाममुखी ढंगले काम गर्ने बताए । आफ्नो टोलीले सर्त अनुरूप काम गर्नुका साथै मन्त्रालयको निर्देशनलाई पालना गर्दै नागरिकहरूको सहजतालाई ध्यानमा राखेर काम गरिने पोखरेलले बताए ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया