कल्लीमा बेनिशा नायिका

काठमाडौँ । पल शाह र बेनिशा हमालको मुख्य भूमिकामा फिल्म ‘कल्ली’ बन्ने भएको छ । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुने यस फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । यसअघि उनले फिल्म ‘बुलाकी’ निर्देशन गरेका थिए । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।

फिल्मको छायांकन अगावै निर्माणपक्षले पल र बेनिशाको गेटअपसमेत सार्वजनिक गरेको छ । सार्वजनिक ३ पोस्टरमा पल शाह एंग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभूति हुने निश्चित छ ।

एउटा पोस्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ । पल र बेनिशाले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् । फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । यो फिल्मलाई नयाँ वर्षको छेको पारेर २९ चैतबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । यो फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । तिहारपछि फिल्मको सुटिङ सुरु हुनेछ ।

प्रतिक्रिया