डिनको कार्यालयमा धर्ना

काठमाडौं, २३ फागुन । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाको राजीनामा स्वीकृत नगर्न दबाब दिँदै अस्पतालका चिकित्सक तथा कर्मचारीले डिनको कार्यालयमा धर्ना दिएका छन् । शुक्रबार राजीनामा दिएका डा. कोइरालाको राजीनामा फिर्ता गराउन माग गर्दै चिकित्सक र कर्मचारीले मंगलबार बिहान आधी घन्टासम्म चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयमा नाराबाजी गर्दै धर्ना दिएका हुन् ।

कर्मचारीहरूले डा. कोइरालाको समर्थनमा नाराबाजी गर्दै कुनै पनि हालतमा राजीनामा स्वीकृत नगर्न सरकारसँग माग गरेका छन् । उनीहरूले कोइरालाको काममा अवरोध गर्नेलाई कारबाही गर्न र छिटोभन्दा छिटो डा. कोइरालालाई काममा फर्काउनसमेत सरकारको ध्यानाकर्षण गरेका छन् ।
चिकित्सक तथा कर्मचारीहरूले सोमबार पहिलो चरणको कार्यक्रम भन्दै चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. प्रकाश सायमी, त्रिवि उपकुलपतिलगायतका पदाधिकारीलाई डा. कोइरालालाई यथावत् रूपमा नै काममा राख्ने वातावरण बनाउन माग राख्दै ज्ञापनपत्र बुझाएका थिए । उनीहरूले कोइरालाले छोटो अवधिमै अस्पतालको मुहार फेरिएको जगजाहेर रहेको भन्दै उनको राजीनामाको खबरले सम्पूर्ण कर्मचारी स्तब्ध भएको जनाएका छन् ।

प्रतिक्रिया