काठमाडौँ । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को नेपाल प्रदर्शन मिति तोकिएको छ । यो फिल्म २८ भदौमा रिलिज हुने पक्का भएको हो । निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शन मिति जानकारी गराएको हो । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगिसकेको यो फिल्म नेपालका हलमा प्रदर्शन गर्न लागेकामा निर्देशक भामले खुसी व्यक्त गरे ।
‘मेरो पहिलो फिल्म कालो पोथी केही हलमा मात्र रिलिज भएको थियो। यो भने नेपालभरिनै रिलिज हुँदै छ । दर्शकहरूको प्रतिक्रिया सुन्न उत्साहित छु,’ उनले भने, ‘कालोपोथी रिलिज हुँदा विदेशमा देखाएर सकेपछि मात्रै नेपालमा रिलिज गरेको भन्ने गुनासो आएको थियो । त्यही गुनासोलाई मध्यनजर गर्दैं हामीले यसपटक छिटो नेपालमा रिलिज गर्ने निर्णय गरेका हौँ। नेपाल प्रदर्शनपछि यो फिल्म विदेशका थुप्रै देशमा रिलिज हुनेछ ।’
यो फिल्म यसअघि विश्वप्रसिद्ध चलचित्र महोत्सवहरूमा पुगिसकेको छ । बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म अगस्ट पहिलो साता स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ हुँदै छ । पियाजा ग्रान्डे विधामा छनोट भएको यस फिल्मलाई हजारौँ दर्शकले हेर्नेछन् ।
‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । सो फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो। एड्भेन्चर र म्याजिक रियालिजम् जनराको यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालभरि प्रदर्शन गर्न लागेको हो ।
यो फिल्म बनाउन झण्डै १५ करोड खर्च भएको निर्देशक भामको भनाइ छ । यसअनुसार ‘शाम्बाला’ हालसम्मकै नेपालको महँगो फिल्म चलचित्र बनेको छ । ‘हामीले यस फिल्म निर्माणका लागि बजेट १४ करोड २१ लाख उल्लेख गरेका छौँ। तर, सबै हिसाब गर्दा १५ करोड खर्च भएको छ। जसअनुसार नेपालकै महँगो फिल्म भन्न मिल्छ,’ उनले भने ।
यस फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बेल्जियमको वितरण कम्पनी बेस्ट फ्रेन्ड फरेभरले लिएको छ । फिल्म निर्माणमा फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान र अमेरिकी कम्पनीले सहकार्य गरेका छन् । यस फिल्मले नेपालको चलचित्र विकास बोर्डसहित विश्वभरका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फन्ड जितेको छ । फिल्मलाई नेटफ्लिक्समा रिलिज लागि विदेशी निर्माता लागिपरेको समेत भामले सुनाए ।
भामको दोस्रो निर्देशकिय फिल्म ‘शाम्बाला’मा थिन्ले ल्हामो र सोनम तोप्देन मुख्य भूमिकामा छन् । यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गर्छ। फिल्मको कथा भामसहित अविनाश विक्रम शाहीले लेखेका हुन् । नेपाली र तिब्बती भाषामा रिलिज हुने फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिने छ । सहरी क्षेत्रमा अंग्रेजी सबटाइटलमा देखाइनेछ ।
प्रतिक्रिया