पोखरा : एक महिना लामो पर्वतीय खेलकुद महोत्सवको आइतबार पोखरामा उद्घाटन भयो । युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले महोत्सवको उद्घाटन गरे । महोत्सवअन्तर्गत भोटेकोसीमा क्यानोइङ, पोखराको सराङकोटमा प्यराग्लाइडिङ र काठमाडौंमा रेसमान्डु सकिइसकेको छ ।
यसैगरी ९ र १० मार्चमा पोखरादेखि मुस्ताङसम्मको बाइकर्स अफ द हिमालय, १० मार्चमा जोमसोममा परम्परागत आर्चरी र १६ मार्चमा क्रसकन्टी आयोजना हुनेछ । यस्तै १७ मार्चमा कायाक च्याम्पियनसिप, २२ मा इक्वेस्ट्रियन, २३ मा गल्फ, २२ मा साइक्लिङ क्रसकन्टी, र २९ मार्चमा ट्रायथलनको आयोजना हुनेछ । २९ र ३० मार्चमा स्पोर्ट्स क्लाइम्बिङको आयोजना हुनेछ । पर्वतीय खेलकुद महासंघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले अन्य खेललाई पनि महोत्सवमा समेट्ने बताए ।
अन्तरकलेज फुटबल हुने
पोखरा विश्वविद्यालयको आयोजनामा पोखरा विश्वविद्यालय दोस्रंो अन्तर कलेज फुटबल प्रतियोगिता यही २५ फागुनदेखि ३ चैतसम्म सञ्चालन हुने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मन्दीप कर्णले दिएको जानकारीअनुसार प्रतियोगितामा पोखरा विश्वविद्यालयसँग सम्बन्धनप्राप्त काठमाडौंका १२ र पोखराका ४ वटा कलेजको सहभागिता रहनेछ । नकआउट आधारमा खेलाइने प्रतियोगिता महाराजगन्जस्थित नेपाल प्रहरी प्रतिष्ठानको मैदानमा हुनेछ । विजेताले ३५ हजार, उपविजेताले २० हजार तथा उत्कृष्ट खेलाडीले रु. ५ हजार पुरस्कार, मेडल तथा ट्रफी प्राप्त गर्नेछन् । (सौस)
प्रतिक्रिया