अन्धविश्वासका कारण महिलाको प्रजनन स्वास्थ्यमा समस्या

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–१४ बाम गाउँकी जस्मा बढुवाले १७ वर्ष नपुग्दै विवाह गरिन् । १९ वर्षमा बच्चा जन्मियो । अहिले २४ वर्षको हँुदा उनका ३ सन्तान छन् । सानै उमेरमा विवाह गरेर पारिवारिक बोझ बढ्नुका साथै जस्मा बढुवाललाई स्वास्थ्य समस्याले सताएकाले उनी चिन्तित छिन् । उनी एक प्रतिनिधि पात्र मात्रै हुन, कर्णालीका जिल्लामा सानै उमेरमा विवाह गर्ने गरेका महिलाहरूको समस्या सबैको जस्मा बढुवालको जस्तै छ । ‘बिहेबारी २० वर्ष पारी’ नारामा भन्ने गरिएको छ । तर मुगुका ग्रामीण गाउँबस्तीमा अहिले पनि १८ वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको पाइन्छ ।

मुगु जिल्लामा बालविवाह गरेकै कारण प्रजनन स्वास्थ्य आङ खस्ने समस्या एकातिर छ भने अर्कोतिर बालविवाहकै कारण विद्यालय छोड्ने दर पनि उच्च छ । धार्मिक अन्धविश्वास, सामाजिक परम्परा र देखासिकीले पनी ग्रामीण भेगमा बालविवाह रोक्न सकिएको छैन । मुगुलगायत कर्णाली प्रदेशका जिल्लामा बालविवाह तथा छाउपडी प्रथाले जरो गाडेर बसेको छ । यसको मुख्य कारण धार्मिक अन्धविश्वास हो । सामाजिक रूपमा धार्मिक अन्धविश्वासले गर्दा कर्णालीका जिल्लामा कु–प्रथाले जरो गाडेर मात्र बसेका छैन । बालविवाह तथा छाउपडी जस्ता कु–प्रथाका कारण महिलाहरूमा स्वास्थ्य समस्याले सताइरहेको पाइन्छ ।

मुगुमा बालविवाह हुने क्रम बिस्तारै कम हुँदै गए पनि अझै ग्रामीण दूरदराजका गाउँमा भने बालविवाह, छाउपडी घट्न सकेको छैन । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अहिले पनी छाउपडी ब्याप्त छ । धार्मिक अन्धविश्वास पुरातनवादी सोचले अझै पनि बालविवाह गर्ने, छाउपडी बार्ने प्रचलनले किशोरी, महिलाको स्वास्थ्य समस्या, हिंसाको सिकार बन्न पुगेका छन् । यो सबै धार्मिक अन्धविश्वासकै कारण महिलाहरूले शारीरिक तथा प्रजनन स्वास्थ्यमा समस्या खेप्नुपरेको जानकारहरू बताउँछन् ।

बालविवाह तथा छाउपडीले गर्दा किशोरी तथा महिलामा शारीरिक समस्यासँगै मनोवैज्ञानिक असरसमेत पर्ने गरेको छ । चेतनास्तर कम भएकाले सानै उमेरमा बालविवाह गर्दा महिलाहरूको आर्थिक अवस्था कमजोर बन्नुका साथै शारीरिक समस्या पनी उत्तिकै देखिने गरेको छायानाथ रारा नगरपालिका–१४ बाम गाउँकी माघि बुढाले बताइन् ।

बालविवाह गर्दा किशोरी तथा महिलाहरूमा शारीरिक समस्या त हुन्छ नै मानसिक तथा सामाजिक रूपमा पनि समस्या पर्छ । त्यसैले बालविवाह न्यू्नीकरण गर्न शिक्षा स्वास्थ्य तथा रोजगारले पनी उत्तिकै अर्थ राख्ने गदर्छ । यसैबीच बालविवाहको मात्र समस्या छैन मुगुलगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अहिले पनि छाउपडी प्रथा ब्याप्त छ । पुरातनवादी सोचले अझै पनि छाउपडी बार्ने प्रचलनले किशोरी, महिला हिंसाको सिकार बन्न पुगेका छन् ।
छाउ हुनु फूलफुलेर फल लाग्नुसरह प्राकृतिक नियम भएको भए पनि छुई भएका बेला मुगुमा महिलालाई अलग्गै राख्ने चलन निरन्तर रूपमा चलेको छ । महिनावारी भएको समयमा घरपरिवारमा छोइ हालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन, पाप लाग्छ भन्नेजस्ता रुढीवादी र अन्धविश्वासबाट छाउभएका महिला समस्या हुने गरेका छन् । विगतका वर्षहरूमा ७ दिनसम्म बाहिर बस्ने महिलाहरू पछिल्लो समय ३ दिनसम्म छाउ बार्ने गरेका छन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा अभियान सञ्चालन गरेसँगै केही परिवर्तन आएको भए पनि सामजिक कु–संस्कार, धार्मिक अन्धविश्वासले समाजमा अझै छाउपडी बार्ने चलन कायम छ । यसका कारण विभिन्न शारीरिक, स्वास्थ्य, मानसिक, शैक्षिक समस्याबाट किशोरीहरू ग्रसित हुन बाध्य भएको स्थानीय महिला सुशीला बुढाले बताइन् ।

उनका अनुसार महिनाबारी भएको समयमा देवता रिसाउँछन् भन्ने अन्धविश्वासले यो समस्याले जरा गाडेको छ । पूरातानवादि सोच समाजिक कु–संस्कारले छाउ भएका महिला आफैँ घर बाहिर बस्ने गरेका स्थानीय जनप्रतिनिधि बताउँछन् । मुगुको छायानाथ रारा नगरपालिका–१४ बाम गाउँमा छाउपडी प्रथासँगै वडा–१४ मा ३ वर्षमा ६२ जनाले वालविवाह गरेको छायानाथ रारा नगरपालिका–१४ का वडा अध्यक्ष जुनबहादुर खड्काले बताए । उनका अनुसार धार्मिक अन्धविश्वास सामाजिक कु–संस्कारले बालविवाह छाउपडी जस्ता कु–प्रथाले जरा गाडेर बसेको छ । त्यसैले गाउँघरमा छाउपडी, बालविवाह गर्ने चलन कायम छ ।

अब स्थानीय सरकारलले बालविवाह, छाउपडी अन्त्य गर्नका लागि विशेष अभियान चलाउने र वडाको सिफारिका आधारमा मात्र विवाह गर्न लगाउनुका साथै बालमैत्री वडा बनाउन लागि पर्ने अध्यक्ष खड्काले बताए । उनका अनुसार बालविवाह गर्ने र छाउपडी प्रथा बार्ने जो कोहीलाई वडाबाट प्रदान गरिने सेवामा पनि रोक लगाउने अध्यक्ष खड्काको भनाइ छ ।

यसैबीच लामो समयदेखि कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) ले छायानाथ रारा नगरपालिका भित्रका युवा, महिला, बाललिका समुदाय र विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, पाठेघर (आङ) खस्ने समस्या, बालविवाह, छाउपडी प्रथाका बारेमा जानकारीसहित अभियान सञ्चालन गरेको छ ।
बालविवाह, छाउपडि जस्ता कु–प्रथा न्यूनीकरणको अभियानमा लागेको संस्थाका कार्यकारी निर्देशक तथा अभियन्ता अजबहादुर शाहीले मुगुमा छाउपडी, बालविवाहका बारेमा ५ वर्षदेखि अभियान चलाउँदै सचेतीकरण कार्यक्रम गर्ने गरेका बताए । सचेतीकरण कार्यक्रमा युवा, महिला, बालबालिका समुदाय र विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा जानकारीसहित धामीझांक्री पुरोहितलाई पनि सचेतनामुलक जानकारी गरेपछि केही हदसम्म कमी आएको बताए । तर, सानै उमेरमा विवाह गराए कन्यादान गरे स्वर्ग पुगिन्छ भन्ने मान्यता, धार्मिक अन्धविश्वासले न्यूनीकरणमा समस्या आएको हो । छाउपडी, बालविवाह गर्नु हुँदैन गरे कानुनी कारबाही हुन्छ भन्ने गरिएको छ तर कानुन कार्यान्वयन गर्ने निकायको मौनताले पनि न्यूनीकरणमा समस्या आएको र यो अझै हट्न नसेको उनले बताए ।

तर, विगतका वर्षहरूभन्दा केही हदसम्म कमी आएको छ । धार्मिक अन्धविश्साले पुराना मान्छेमा केही समस्या भएको भए पनि अहिलको युवा पिडीमा न्यूनीकरण भएको कार्यकारी निर्देशक तथा अभियन्ता शाहीको भनाइ छ ।

महिनावारी अर्थात छुई हँुदा कम्तीमा ७ दिन छाउ गोठमै बस्दै आएकी महिला, किशोरी आजभोलि ३ दिनपछि घरभित्रै जाने गरेका छन् । धेरै संघसंस्थाबाट जनचेतना÷क्षमता अभिवृद्धिका अवसर पाएपछि अहिले छाउ मान्न र बालविवाहमा पनि केही हद कमी आएको छ । बालविवाह गरे छाउपडी मान्ने काम कानुन बोमोजिम दण्डनीय हुने कुरा कानुनमा उल्लेख छ । तर, कानुन कार्यान्वयन गर्ने निकायको मौनताले समस्या बल्झिएको देखिन्छ ।

प्रतिक्रिया