बसले ठक्कर दिँदा ४ विद्यार्थी घाइते

जनकपुरधाम । जनकपुरधाममा एक बसले ठक्कर दिँदा ४ बालक घाइते भएका छन् । आइतबार राती करिब ९ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–२३ लादोबेलास्थित रहेको नन्दनी डेरीभन्दा केही अगाडी एकै पटक ४ बालकलाई ठक्कर दिँदा बालकहरु घाइते भएका हुन् ।

बसको ठक्करबाट घाइते हुने सबै बालक महोत्तरीको सिमराढी निवासी रहेका छन् । अध्यनका लागि जनकपुरधाम बस्दै आएका उनीहरु पढेर डेरा जाँदै गरेको अवस्थामा बसले ठक्कर दिएको बताइएको छ ।

घाइते हुनेहरुमा महोत्तरी सिमराढी बस्ने बर्ष १४ का रोहन साफी, बर्ष १६ का रवि सहनी, बर्ष १५ का राजन सहनी र बर्ष १७ का अमित कुमार साफी रहेका छन् । उनीहरुमध्ये रोहन साफीको अवस्था गम्भीर रहेको छ । उनको टाउको र खुट्टासहित शरिरको बिभिन्न भागमा गम्भीर चोट लागेको छ ।

घाइतेहरुलाई जनकपुरधाम प्रादेशिक अस्पतालमा भर्ना गरिए पनि रातीनै उनीहरुलाई जनकपुर न्यूरो हस्पिटलमा रिफर गरिएको बताइएको छ । न्यूरो हस्पिटलका सूचना अधिकारी संजय कुमार मण्डलका अनुसार, रोहनको अवस्था गम्भीर रहेको छ । उनलाई कम्तीमा ८ पिन (पोका) ब्लडको आवश्यकता रहेको छ ।

यता बिद्यार्थीलाई ठक्कर दिएर फरार रहेको बस र चालक दुबैको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकारी दिएका छन् ।

प्रतिक्रिया