लक्ष्यभन्दा कम राजस्व सङ्कलन

सिरहा । आन्तरिक राजस्व कार्यालय सिरहाले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ८६ करोड ९८ लाख ७८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले राजस्व संकलनको वार्षिक लक्ष्य २ अर्ब २८ करोड ८३ लाख ३५ हजार रुपैयाँ पाएको थियो । तर, कार्यालयले लक्ष्यभन्दा १९ दशमलव ३१ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट ५७ करोड ६३ लाख ३४ हजार, भाडा आयकरबाट १ करोड ९७ लाख ९३ हजार, ब्याजबापत १ करोड ४६ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत ३८ करोड ७१ लाख ९० हजार तथा अन्तःशुल्कबापत ८७ करोड ४ लाख ५४ हजार, स्वास्थ्य क्षेत्रबाट ४ लाख ८ हजार, शिक्षा क्षेत्रबाट २ लाख १६ हजार तथा अन्य क्षेत्रबाट ७ लाख ९० हजार राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पूण्यप्रसाद रिजालले जानकारी दिए ।

कार्यालयले आव २०७९/०८० मा १ अर्ब ८२ करोड ३३ लाख ६७ हजार राजस्व संकलन गरेको थियो । गत आवमा कार्यालयको २ अर्ब २३ करोड ४३ लाख ५८ हजार राजस्व उठाउने लक्ष्य थियो । तर ८१ दशमलव ६१ प्रतिशत मात्र राजस्व संकलन गरिएको थियो । उनले भने, ‘देशभर व्यापार व्यवसायमा गिरावट, व्यापार बन्दलगायत कारणले राजस्व संकलनमा कमी आएको हो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानीसमेत घटेको छ ।’

गत आवमा मूल्य अभिवृद्धिकरबापत ४२ करोड ३५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने आव २०८०/०८१ मा ३८ करोड ७१ लाख ९० हजार संकलन भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब २८ करोड ८३ लाख ३५ हजार रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य पाएको प्रमुख कर अधिकृत रिजालले बताए ।

प्रतिक्रिया