मधेस ब्युरो । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) रौतहटले १ अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । कोलेनिकाले रौतहटमा गत आवमा १ अर्ब ९१ करोड ७० लाख ५६ हजार ८२४ रुपैयाँ ११ पैसा राजस्व संकलन भएको कोलेनिका प्रमुख देवीप्रसाद गौतमले बताएका हुन् ।
गत आर्थिक वर्षमा रौतहटमा निकै कम बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटले जनाएअनुसार रौतहटमा गत आवमा चालुतर्फ २०८०/०८१ मा ५ दशमलव १२ प्रतिशत मात्र बजेट फ्रिज भएको हो ।
आव २०८०/०८१ मा रौतहटको बजेट ११ अर्ब ४३ करोड ५५ लाख ५ हजार १६६ रहेकोमा ९४ दशमलव ८८ प्रतिशत १० अर्ब ८५ करोड ६ लाख ८३ हजार २४९ रुपैयाँ ३१ पैसा खर्च भएको कोलेनिका रौतहट प्रमुख देवीप्रसाद गौतमले जानकारी गराएका छन् । पुँजीगततर्फ गत वर्षमा ८७ दशमलव २२ प्रतिशतले बजेट खर्च भई १२ दशमलव ७८ प्रतिशत बजेट फ्रिज भएको छ ।
विगतका वर्षहरूभन्दा रौतहटमा खर्च गर्ने प्रतिशतमा धेरै सुधार भएको छ । सबै क्षेत्रको बजेट परिचालन भएकोले खर्चको प्रतिशत बढेको र फ्रिज हुने प्रतिशत घटेको कोलेनिकाको भनाइ छ ।
समयमा बजेट र अख्तियारी आउने हो भने बजेटको खर्च प्रतिशत बढ्ने हुन्छ । बजेट आए पनि खर्चको अख्तियारी ढिलो आउँदा खर्च प्रतिशतमा ह्रास आउने हुन्छ । गत आवमा खर्चको प्रवृत्ति सकारात्मक भएको देखिएको छ । गत आवमा रौतहटमा राजस्व आम्दानीमा पनि सुधार भएको छ ।
प्रतिक्रिया