जनकपुर । संघ सरकार मातहत रहेको जनकपुरधामको राजर्षि जनक विश्वविद्यालयले प्रगति विवरण सार्वजनिक गरेको हो । सुरुका दिन विवादैविवादमा पर्दै आएको विश्वविद्यालयले पछिल्लो समय केही उत्कृष्ट कामको थालनी गरेको प्रगति विवरणमा दावी गरिएको छ ।
विश्वविद्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार राजर्षि जनक विश्वविद्यालयले प्राविधिक शिक्षामा जोड दिँदै अगाडि बढ्ने बताइएको छ ।
सोही लक्ष्यअनुसार गत वर्षदेखि महोत्तरीको गौशालामा स्नातक तहको सिभिल इन्जिनियर विषयको ४८ सिटमा अध्ययन अध्यापन भइरहेको छ । साथै मानविकी तथा कानुन संकायअन्तर्गत दर्शनाचार्यको शैक्षिक कार्यक्रममा २० जना विद्यार्थी भर्ना भएका छन् जसअन्तर्गत प्रथम सेमेस्टरको कक्षा अनलाइनबाट भइरहेको छ ।
यसका साथै बिबिए, एमबिए, बिपिएच, बिएससी, एमएलटी, बिसिए, बिएससिसिएसआइटी, बिएएलएलबी विषयका कक्षा सञ्चालन भइरहेका छन् । शैक्षिक सत्र २०८१–२०८२ देखि बिआइटी, बिएससी एग्रिकल्चर, बिई कम्प्युटर, बिडिबिएम, बिजेएमसी र बिइडी आइसिटीजस्ता नयाँ विषयको पठनपाठनको तयारी भइरहेको उपकुलपति प्राध्यापक डा.अमरप्रसाद यादवले जानकारी दिए ।
अहिले विश्वविद्यालयद्वारा सञ्चालित कोर्समा ७५० विद्यार्थीहरू अध्ययनरत छन् । आंशिक तथा स्थायी गरेर ६० प्राध्यापक र ५० जना कर्मचारीहरू कार्यरत छन् । विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सूचना आह्वान गर्दा देशभरबाट २४९ आवेदन परेको जनाइएको छ ।
विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल भइरहेको विश्वविद्यालयले जनाएको छ ।
प्रतिक्रिया